वासिङ्टन । अप्रिल महिनामा अमेरिकाको रोजगार बजार बलियो देखिएको छ । मूल्यवृद्धि र अन्य आर्थिक अवरोधहरुले रोजगार बजार सुस्त हुने आकलनका बीच अप्रिलमा चार लाख २८ हजार नयाँ रोजगारी सिर्जना भएको हो ।
अमेरिकी श्रम विभागका अनुसार अमेरिकामा बेरोजगारी दर उक्त महिना ३.६ प्रतिशत रहेको थियो । रोजगारीको संख्या आशा गरेभन्दा बढी हो । त्यस्तै १६औँ महिनासम्म अमेरिकामा लगातार रोजगारी संख्या बढेको बताइएको छ । अमेरिकी केन्द्रीय बैंकले अर्थतन्त्र सकारात्मक रहेको र मूल्यवृद्धि नियन्त्रणमा ब्याजदर बढाउने बताएपछि उल्लेख्य रोजगारी सिर्जना भएको बताइएको छ ।
कोरोना महामारीबाट अमेरिकी अर्थतन्त्र सोचेभन्दा छिटो तंग्रिएको थियो । त्यतिबेला अमेरिकामा दुई करोड २० लाख रोजगारी गुम्नपुगेको थियो । प्रतिघण्टा तलब भुक्तानी दर समेत अप्रिलमा ५.५ प्रतिशतले बढेको थियो ।