काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो बैठक बस्ने गरी संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को आइतबारको सिफारिसमा आगामी जेठ ३ गते मंगलबारका दिन अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले पूर्वबजेट छलफलका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वानको तयारी गरेको हो । हरेक वर्ष जेठ १५ गते सरकारको आय/व्यय (बजेट) ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । अघिल्लो वर्ष सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो । अर्थमन्त्री जर्नादन शर्माले संघीय संसद्मा प्रस्तुत गरेका थिए ।
यता अर्थ मन्त्रालयका अनुसार जेठ ३ गते अर्थमन्त्री शर्माले बजेटको प्राथमिकताका विषय सदनसमक्ष पेश गर्ने तयारी गरेका छन् । त्यसपछि जेठ ४ गते पूर्वबजेट छलफल हुनेछ र अर्थमन्त्रीले जवाफ दिएपछि जेठ ७ गते राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको छ ।
नेपालको संविधानको धारा ११९ को उपधारा (३) बमोजिम राजस्व र व्ययको अनुमानअन्तर्गत नेपाल सरकारका अर्थमन्त्रीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रत्येक वर्ष जेठ महिनाको १५ गते पेश गर्नुपर्ने संवैधानिक अनिवार्यता छ ।
दुईवटा अध्यादेश जारी
आइतबार राष्ट्रपति भण्डारीले स्वास्थ्यसम्बन्धी दुईवटा अध्यादेश जारी गरेकी छिन् । औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ राष्ट्रपति भण्डारीले आइतबार जारी गरेकी हुन् । उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेशहरु जारी गरेको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।