काठमाडौँ । सेयरबजारमा सोमबार दोहोरो अंकको वृद्धि भएको छ । आइतबार दोहोरो अंकले बढेको सेयर बजार सोमबार पनि दोहोरो अंकले बढेको हो । सोमबार सेयरबजार १२ दशमलव २७ अंकले बढेर दुई हजार दुई सय ६८ अंकमा पुगेको छ ।
सोमबार कुल दुई सय २२ कम्पनीको ३३ लाख २४ हजार आठ सय २२ कित्ता सेयर कारोबार भयो । एक अर्ब ३९ करोड छ लाखको कारोबार हुँदा एक सय १४ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ७१ वटा कम्पनीको घट्यो र आठवटा कम्पनीको स्थिर रह्यो । बजार पुँजीकरण भने ३२ खर्ब २७ अर्ब ७६ करोड १४ लाख पुगेको छ ।
त्यस्तै, कारोबार भएको कुल १३ उपसमूहमध्ये नौ उपसमूहको सेयर मूल्य उकालो र चार उपसमूहको सेयर मूल्यमा ओरालो लागेको छ । बैंकिङ १४ दशमलव ७६, व्यापार ३५ दशमलव २२, जलविद्युत् १२ दशमलव ५३, फाइनान्स एक दशमलव ६६, निर्जीवन बीमा ५७ दशमलव ३, उत्पादन २७ दशमलव १९, लघुवित्त ६० दशमलव ७५, म्युचुअल फण्ड शून्य दशमलव आठ र अन्य पाँच दशमलव ९१ अंकले बढेको हो । होटेल तथा पर्यटन २५ दशमलव ८५, विकास बैंक २० दशमलव ९१, जीवन बीमा ८२ दशमलव १२ र लगानी शून्य दशमलव सात अंकले घटेको छ ।
सोमबार सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भयो भने त्यसपछि क्रमशः एनआईसी एसिया बैंक, हिमालय डिष्टिलरी लिमिटेड, शिवम् सिमेन्ट, नबिल बैंक, अरुण भ्याली हाइड्रो, नेपाल पूर्वाधार बैंक रह्यो । टेलिकमको सात करोड ८३ लाख, एनआईसी एसियाको पाँच करोड चार लाख, हिमालयन डिष्टिलरीको चार करोड ९५ लाख, शिवं सिमेन्टको तीन करोड ८६ लाख, अरुण भ्यालीको तीन करोड ४७ लाख, नेपाल पूर्वाधार बैंकको तीन करोड २६ लाखको कारोबार भएको छ ।
त्यस्तै, सोमबार सबैभन्दा बढी कमाउनेमा जाल्पा सामुदायिक लघुवित्त, महिला लघुवित्त, उन्नति सहकार्य लघुवित्त, सानिमा फण्ड, आरएसडीसी लघुवित्त, मैलुङ खोला जलविद्युत्, तारागाउँ होटल, तेह्रथुम पावर कम्पनी, इन्फिनिटी लघुवित्त, विजय लघुवित्त रहेका छन् । जसमा जाल्पाको १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ भने अन्यको चारदेखि छ प्रतिशतको हाराहारीमा सेयर बढेको छ । यता सबैभन्दा बढी गुमाउनेमा हिमालय ऊर्जा विकास कम्पनी, स्वरोजगार लघुवित्त, गृह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, समता घरेलु लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रो, न्यादी ग्रुप, नारायणी विकास बैंक, चन्द्रागिरि हिल्स लिमिटेड, सिंगटी हाइड्रो रहेका छन् । ती कम्पनीहरुको सेयर करिब दुईदेखि चार प्रतिशतले घटेको हो ।
आइतबार सेयरबजार १७ दशमलव ९५ अंकले बढेर दुई हजार दुई सय ५६ अंकमा पुगेको थियो । एक सय ३६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५२ वटा कम्पनीको घट्यो भने पाँँचवटा कम्पनीको स्थिर रहेको थियो । आइतबार सेयरबजारमा एक अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँको कारोबार हुँदा कुल दुई सय ३३ वटा कम्पनीको ३३ लाख ४१ हजार दुई सय १४ कित्ता सेयर कारोबार भएको थियो ।