विराटनगर । नेपालमा स्थानीय तहको निर्वाचनको तयारी भइरहँदा भारतमा भने इन्डियन प्रिमियम लिग भइरहेको छ । चुनावको सरगर्मीसँगै पछिल्लो समय विराटनगरमा अवैध जुवाजन्य फाट्का खेलले विशेष चर्चा पाउन थालेको छ । राज्यका सबै निकाय स्थानीय निर्वाचन सम्पन्न गर्न होमिरहेको मौका छोपेर सट्टेबाजहरूले अहिले विराटनगरमा प्रिमियम लिगको नाममा दैनिक करोडौँको खेल खेलाउने गरेका छन् ।
स्रोतका अनुसार अवैध जुवाजन्य खेल फाट्का नै मात्र नभई सट्टेबाजको काम गर्ने व्यक्ति पनि हुने गर्दछ । लामो समयदेखि जुवाजन्य अवैध फाट्का (सट्टेबाज)को धन्दा चलाउँदै आएका विराटनगरका व्यापारी समुदायका युवाहरूले व्यापारमा तरलताको अभाव झेलिरहेको अवस्थामा पनि भारतमा जारी रहेको इन्डियन प्रिमियम लिगको क्रिकेटमा करोडौँको कारोबार गरिरहेका छन् । स्थानीय व्यवसायीका अनुसार विराटनगरमा रहेका उद्योगी तथा व्यापारी समूहका युवा समूहमा निकै लोकप्रिय बन्न पुगेको फट्काको सौदामा सुनसरी मोरङ औद्योगिक करिडोरमा मात्रै दैनिक एक करोडभन्दा माथिको कारोबार हुनेगरेको छ । पछिल्लो समय भारतमा आईपीएल हुन थालेपछि विराटनगरबाट गरिने फाट्काको सौदाले युवा व्यापारीमा अग्रता लिएसँगै जुवा जन्य फट्काको व्यापक चर्चा सुरु भएको छ । फट्काका सट्टेवाजहरूले दिनभरि क्रिकेटमा हुने खेलका आधारमा स्थानीय व्यापारीसँग मोलतोल गर्ने र पैसा उठाउने कामलाई तीव्रता दिन थालेका हुन् ।
केही वर्षअगाडि मोरङ प्रहरीले फट्काका नामुद खेलाडीलाई उनले प्रयोग गर्ने उपकरणसहित पक्राउ गरेर मुद्दा चलाएपछि विराटनगर क्षेत्रमा केही मत्थर भएको फट्का अहिले लिग सुरु भएको करिब एक महिना पुग्नै लाग्दा उग्ररुप लिन पुगेको छ । अवैध जुवाजन्य फाट्का चलाउन भारतसम्म सञ्जाल विस्तार भएको छ । नेपालबाट बुकीको काम गर्नेहरूले भारतको बिकानेर र जयपुरबाट दैनिक फट्काको भाउ बुझ्ने काम गर्नेगरेको स्रोतले बताएको छ । त्यहाँबाट भाउ तोकिएपछि नेपालमा रहेका बुकीहरूले फाट्काको दाउमा सट्टा लिनेगरेको कुरा थाहा भएको छ । विराटनगरको विभिन्न ठाउँमा बसेर बुकीको काम गर्दै जुवा र फाट्का चलाउनेमा नाम कहलिएका व्यक्ति नै रहेका छन् । अधिकांश व्यापारी समुदायका युवाहरू रहेका कारण यो अवैध खेलले प्रश्रय पाएको प्रहरीस्रोतले नै जानकारी दिएको छ । फाट्का चलाउने मुख्य नाइके बुकीहरूले निकै व्यवस्थित सूचना प्रणाली अपनाएर बुक सञ्चालन गर्नेगरेको छ ।
प्रहरीले पक्राउ गरेकालाई समेत मौजुदा जुवा कानुनअनुसार मात्र कारबाही चलाउने भएकोले फट्काका खेलाडी र बुकी सञ्चालन गर्ने नाइकेहरूले प्रहरीको कारबाहीलाई खासै वास्ता नगर्ने तर प्रहरीले पक्राउ गरी लाँदा आफनो इज्जतसँग मात्र सरोकार राख्ने गरेको हुँदा अवैध खेल फट्का व्यवसायी घरानाका युवा माझमा मात्र लोकप्रिय खेल भएको बताइन्छ । यो चुनावको सरगर्मीसँगै बजारमा बढ्दै गएको अवैध फट्का खेलका कारण धेरै उच्च घरानाका उद्योगी तथा व्यवसायी नराम्रोसँग प्रभावित हुन थालेपछि भोलि पलायन नै बन्ने अवस्था आउने त्रास व्यवसायी तथा उद्योगीमा पर्न थालेको छ ।