काठमाडौं । म्याग्दी जिल्लामा ५७ दशमलव ३ मेगावाटको म्याग्दी खोला जलविद्युत् आयोजनाको प्रवर्द्धक हाइड्रो भिलेज प्रालिमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले २० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी गर्ने भएको छ ।
स्वपुँजी लगानीको दायरालाई फराकिलो बनाउँदै लैजाने तथा सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणाअनुसार एचआईडीसीएलले उक्त कम्पनीमा लगानी गर्ने निर्णय गरेको हो । लगानीसम्बन्धी सम्झौतामा एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम र हाइड्रो भिलेजका अध्यक्ष क्या. रामेश्वर थापाले हस्ताक्षर गरेका छन् । एचआईडीसीएलको ११ वर्षको लगानी यात्रामा स्वपुँजी लगानी गरेको यो चौथो आयोजना रहेको प्रमुख कार्यकारी अधिकृत गौतमले बताए । ‘निजी क्षेत्रका यस्तै अन्य आकर्षक आयोजनामा पनि हामी लगानी गर्दै जानेछौँ’, उनले भने, ‘कम्पनीले तोकिएको समयभित्र आयोजनाको निर्माण पूरा गर्नेमा हामी विश्वस्त छौँ ।’
अब आयोजनामा हाइड्रो भिलेज, एचआईडीसीएल र मलेसियन कम्पनीको स्वामित्व रहनेछ । मलेसियन कम्पनीसँग यसअघि नै पुँजी लगानीका विषयमा सम्झौता भइसकेको छ । एचआईडीसीएलले सुझाएजस्तै तोकिएको समयमै निर्माण पूरा गरी बिजुली उत्पादन गर्न कम्पनीले तत्परताका साथ काम गर्ने कम्पनीका अध्यक्ष थापाले प्रतिबद्धता व्यक्त गरे । साथै, अहिले आयोजनास्थलसम्म पहुँच सडक निर्माणको कार्य भइरहेको कम्पनीको प्रबन्ध निर्देशक सुशील पोखरेलले बताए । धवलागिरि हिमालको आधार शिविर नजिकै निर्माण हुने हुँदा यो आयोजनाले पर्यटकीय महत्त्व पनि बोकेको बताउँदै पोखरेलले भने, ‘हामीले आयोजनास्थलसम्म पुग्ने सडक निर्माण गरिरहेका छौँ । साथै, यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, सञ्चार रोजगारीका सम्भावनालाई पनि उच्च प्राथमिकता दिइनेछ, जसबाट स्थानीयबासीको जीवनस्तर माथि उठ्न सकोस् ।’
म्याग्दीको धवलागिरि गाउँपालिकाको बगरमा निर्माण हुने यो नदी प्रवाही आयोजनाको तीन वर्षअगाडि नै नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) भएको थियो । आयोजनाबाट वार्षिक ३३ करोड ४० लाख युनिट (३ सय ३४ गिगावाट घन्टा) विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत १७ किलोमिटर टाढा प्राधिकरणको डाँडाखेत सबस्टेसनमा लगेर जोडिनेछ । प्राधिकरणसँग गरिएको पीपीएअनुसार कम्पनीले २०८२ साल असोज (३ वर्ष ५ महिना ६ दिन) भित्र विद्युत् उत्पादन गरिसक्नुपर्ने हुन्छ ।