काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार दोहोरो अंकले बढेको सेयरबजार मंगलबार पनि दोहोरो अंकले बढेको हो । यसअघि आइतबार र सोमबार पनि सेयरबजार बढेको थियो । मंगलबार सेयरबजार ४४ दशमलव १६ अंकले बढेर दुई हजार तीन सय १३ अंकमा पुगेको छ । ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने सात दशमलव ६७ अंकले बढेर चार सय ४७ दशमलव १४ अंकमा पुगेको छ ।
मंगलबार कुल दुई सय २६ कम्पनीको ३३ लाख ३० हजार एक सय ५० कित्ता सेयर कारोबार भयो । एक अर्ब ३५ करोड ६६ लाख ८७ हजारको कारोबार हुँदा एक सय ८१ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने नौवटा कम्पनीको घट्यो र चारवटा कम्पनीको स्थिर रह्यो । बजार पुँजीकरण भने ३२ खर्ब २९ अर्ब ५७ करोड ९८ लाख पुगेको छ ।
त्यस्तै, मंगलबार कारोबार भएका १३ उपसमूहहरुमध्ये सम्पूर्ण उपसमूहको सेयर मूल्य उकालो लागेको हो । बैंकिङ २२ दशमलव ५५, व्यापार १४ दशमलव ४१, होटल तथा पर्यटन ३६ दशमलव ८६, विकास बैंक एक सय तीन दशमलव छ, जलविद्युत् ९६, फाइनान्स ५४ दशमलव नौ, निर्जीवन बीमा एक सय २४ दशमलव पाँच, उत्पादन ६२ दशमलव ९७, लघुवित्त ८६ दशमलव पाँच, जीवन बीमा दुई सय ३६ दशमलव ८१, म्युचुअल फन्ड शून्य दशमलव पाँच र अन्य ३५ दशमलव ११ अंक र लगानी एक दशमलव सात अंकले बढेको छ ।
मंगलबार सबैभन्दा बढी कारोबार हुनेमा न्यादी ग्रुपको भयो भने त्यसपछि क्रमशः अरुणभ्याली हाइड्रो, नेपाल टेलिकम, वरुण हाइड्रोपावर, नबिल बैंक, राधी विद्युत् कम्पनी, हिमालय डिष्टिलरी लिमिटेड र शिवम् सिमेन्ट रह्यो । न्यादी ग्रुपको नौ करोड ९८ लाख तीन हजार, अरुण भ्याली हाइड्रोको चार करोड २५ लाख २३ हजार, नेपाल टेलिकमको तीन करोड ८२ लाख ८९ हजार, वरुण हाइड्रोपावरको तीन करोड ७४ लाख २६ हजार, नबिल बैंकको तीन करोड ६८ लाख ८७ हजार, राधी विद्युत् कम्पनीको तीन करोड ५३ लाख १० हजार, हिमालय डिष्टिलरी लिमिटेडको तीन करोड ४९ लाख ४३ हजार र शिवम् सिमेन्टको तीन करोड १४ लाख ४१ हजारको कारोबार भएको छ ।
त्यस्तै, मंगलबार सबैभन्दा बढी कमाउनेमा वरुण हाइड्रोपावर, न्यादी ग्रुप, जाल्पा सामुदायिक लघुवित्त, युनिर्भसल पावर कम्पनी, दिव्येश्वरी हाइड्रो, नेशनल हाइड्रोपावर, राधी विद्युत् कम्पनी, अरुण काबेली रहे । जसमा वरुण हाइड्रोपावर, न्यादी ग्रुप, जाल्पा सामुदायिक लघुवित्तको क्रमशः १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ भने अन्यको आठदेखि १० प्रतिशतको हाराहारीमा सेयर बढेको छ । यता सबैभन्दा बढी गुमाउनेमा एनआईबीएल समृद्धि फण्ड,उन्नति सहकार्य लघुवित्त, नबिल ऋणपत्र, कृषि विकास बैंक ऋणपत्र, गुराँस लघुवित्त, तारागाउँ रिजेन्सी, समिट लघुवित्त रहे । ती कम्पनीहरुको सेयर करिब दुईदेखि पाँच प्रतिशतले घटेको हो ।
सोमबार सेयर बजार १२ दशमलव २७ अंकले बढेर दुई हजार दुई सय ६८ अंकमा पुगेको थियो भने कुल दुई सय २२ कम्पनीको ३३ लाख २४ हजार आठ सय २२ कित्ता सेयर कारोबार भएको थियो । सोमबार कुल एक अर्ब ३९ करोड छ लाखको कारोबार हुँदा एक सय १४ वटा कम्पनीको सेयर मूल्य बढ्यो, ७१ वटा कम्पनीको घट्यो र आठवटा कम्पनीको स्थिर रह्यो । बजार पुँजीकरण भने ३२ खर्ब २७ अर्ब ७६ करोड १४ लाख पुगेको थियो ।