रियाद । साउदी अरेबिया सरकारको स्वामित्व रहेको ठूलो तेल उत्पादक कम्पनी साउदी अराम्कोको खुद नाफा ८२ प्रतिशतले बढेको छ । रोयटर्सका अनुसार पहिलो तीन महिनामा बढ्दो तेलको मूल्यसँगै उच्च नाफा आर्जन गर्न अराम्को सफल भएको हो ।
विश्वको धेरै मूल्यवान् कम्पनीमा अमेरिकी प्रविधि कम्पनी एप्पलकै हाराहारीमा रहेको अराम्कोले मार्च ३१ सम्मको त्रैमासिक अवधिमा ३९ अर्ब ५० करोड अमेरिकी डलर खुद आय गरेको छ । एक वर्षअघि सोही अवधिमा कम्पनीको नाफा २१ अर्ब ७० करोड डलर रहेको थियो ।
अराम्को विश्वकै ठूलो तेल निर्यातकर्ता हो । यसले ३८ अर्ब ५० करोड डलर आम्दानी गर्ने प्रक्षेपण गरिएको थियो । अराम्को सन् २०१९ मा सूचीकृत भएको थियो। यसको १.७ प्रतिशत सेयर साउदी नागरिक र क्षेत्रीय संस्थालाई बिक्री गरिएको थियो ।