काठमाडौं । भौतिक उपस्थितिविना श्रम स्वीकृति दिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भैरहवामा वैदेशिक रोजगार कार्यालय स्थापना गरी वैदेशिक रोजगारीलाई थप सहज बनाउने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सरल र सहज सेवा दिन जेठ महिनाभित्रै वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने घोषणा गरेका छन् ।
भैरहवामा उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार कार्यालयका साथै, म्यानपावर कम्पनीका शाखा, अभिमुखीकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु पनि जेठभित्रै सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायीसहित सरोकारवालाहरुले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले पूरा गर्नुपर्ने सबै प्रक्रिया भैरहवाबाटै पूरा हुनुपर्ने माग गरेका थिए । मन्त्री श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रमिक सहायता कक्षको पनि अवलोकन गरेका थिए । विमानस्थलमा श्रमिकका लागि छुट्टै प्रवेशद्वार नराखी सम्मानजनक व्यवहार गर्न मन्त्री श्रेष्ठले विमानस्थल प्रशासनलाई निर्देशन दिएका थिए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सरल र सहज सेवा दिन गर्नुपर्ने आवश्यक व्यवस्था मिलाउन मन्त्री श्रेष्ठसहितको टोली शुक्रबार भैरहवा आएको हो । यसअघि वैदेशिक रोजगारीको लागि आवश्यक पर्ने श्रम स्वीकृति प्रविधिमैत्री बनाइएको थियो । जेठ ६ गतेदेखि अनलाइन प्रणालीबाट मात्र नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने निर्णय भएको वैदेशिक रोजगार कार्यालय, तहाचलका प्रमुख रमेश अर्यालले जानकारी गराएका थिए ।
कार्यालयले गत माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट गरेको थियो । सोसँगै कार्यालयमा दैनिक हुने हजारौँको भीड हटेको थियो । हाल भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरणमार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्थासँगै कार्यालयले पूर्णरुपमा अनलाइन प्रणालीबाट मात्र सेवाप्रवाह गर्ने भएको छ ।