काठमाडौं । नेपाल राष्ट्र बैंकलाई सरकारको लागि आन्तरिक ऋण उठाउन भ्याइनभ्याइ भएको छ । चालू आर्थिक वर्षभित्र दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको राष्ट्र बैंकलाई चालू आव सकिनैलाग्दा ऋण उठाउन भ्याइनभ्याइ भएको हो ।
सोअनुसार आज बिहीबार राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र र तीन अर्ब तीन करोड रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्ने भएको छ । गत साता अर्थात् यही जेठ ६ गते पनि राष्ट्र बैंंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गरेको थियो । राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । जेठ १२ गते अर्थात् आज बिहीबार दुई वर्षे अवधिको विकास ऋणपत्र २०८१, ‘च’ बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाइ छ ।
ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सो दिन अपराह्न ३ बजेसम्म बोलकबोल पेस गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार जारी मिति यही जेठ १३ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी अवधि वि.सं. २०८१ जेठ १३ गते तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइनेछ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजदरमा ब्याजकर समेत लाग्नेछ ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुुल ऋणपत्रमध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने जानकारी समेत राष्ट्र बैंकले गरेको छ ।
खरिद गर्न पाउने सीमा न्यूनतम ५० हजार र अधिकतममा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यीबाहेकका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भने अप्रतिस्पर्र्धीको रुपमा भाग लिन पाउनेछैनन् । प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलवपछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नुपर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम मात्र उल्लेख गर्नुपर्नेछ । खरिद गरिएको ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्जमार्फत हुुनेछ ।
यसैबीच राष्ट्र बैंकले आज बिहीबार नै नागरिक बचतपत्र २०८४ (पाँच वर्षे) को बिक्री आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने गरी वार्षिक ११ प्रतिशत ब्याज तोकेर नागरिक बचतपत्र बिक्री गर्न लागिएको हो । यही जेठ १२ गतेबाट खुल्ला हुने बचतपत्रको बिक्री कार्य जेठ ३१ गतेसम्म कायम रहनेछ । राष्ट्र बैंकका अनुसार निष्काशन २०७९ असार ८ गते तोकिएको बचतपत्रको सावाँ भुक्तानी मिति २०८४ असार ८ गते तोकिएको छ । यो बचतपत्र धितो राखेर कर्जा लिन र दिन समेत सकिनेछ ।
राष्ट्र बैंकका अनुसार घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको सीमामा रहेर बचतपत्र खरिद गर्न सकिनेछ ।
नेपाल राष्ट्र बैंकमा दुई सञ्चालक नियुक्त
नेपाल राष्ट्र बैंकमा दुई जना सञ्चालक नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको राष्ट्र बैंकको सञ्चालकहरुमा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वकार्यकारी निर्देशक डा. शंकरप्रसाद आचार्यलाई नियुक्त गरेको हो ।
दुई जनाको नियुक्तिसँगै राष्ट्र बैंकमा सात सदस्यीय सञ्चालक समिति कायम भएको छ । राष्ट्र बैंकको सञ्चालक समितिको गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा अर्थसचिव मधुकुमार मरासिनी, डेपुटी गभर्नर डा. निलम ढुंगाना, डेपुटी गभर्नर बम बहादुर मिश्र र सुबोध कुमार कर्ण रहेका थिए । सरकारले शिवाकोटी र आचार्यलाई सञ्चालक नियुक्त गरेसँगै राष्ट्र बैंकमा सात सदस्यीय सञ्चालक समिति कायम भएको छ ।
यसअघि राष्ट्र बैंकको सञ्चालकमा रामजी रेग्मी र श्रीराम पौडेल रहेका थिए । उनीहरुको कार्यकाल सकिएसँगै राष्ट्र बैंकमा दुई जना सञ्चालकको पद रिक्त थियो । (आर्थिक दैनिकबाट)