काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चाँगुनारायण ०३ भक्तपुरमा अवस्थित मानव कल्याण समाज नामक संस्थालाई २० थान बेडसिटलगायतका सामान हस्तान्तरण गरेको छ । बैंकले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बागमती प्रदेशका उपप्रमुख टिका ओझा र कमलविनायक शाखा प्रमुख उज्वल श्रेष्ठले उक्त सामानहरू हस्तान्तरण गरेका थिए ।
मानव कल्याण समाजले बेवारिसे सडक मानवको रूपमा खुला आकाशमुनि आफ्नो जीवन व्यतित गरिरहेका विभिन्न उमेरसमूहका वृद्धदेखि बालबालिका, शारीरिकरूपमा अशक्त व्यक्तिहरूलाई उद्धार गरी उनीहरूको संरक्षण गर्दै आएको छ । मानव कल्याण समाजले हाल देशका विभिन्न स्थानमा रहेका पाँचवटा शाखाबाट दुई सय जनाभन्दा बढीलाई गाँस, बास, कपास तथा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।
विभिन्न संघसंस्था एंव व्यक्तिहरूले स्वेच्छिकरूपमा प्रदान गर्दै आएको सहयोगबाट सञ्चालन भइरहेको मानव कल्याण समाजलाई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो । यसअघि पनि बैंकले सामाजिक कार्यमा संलग्न विभिन्न संघसंस्थाहरूलाई सहयोग गर्दै आएको छ ।
बैंकले हाल देशका सातवटै प्रदेशमा एक सय ६५ वटा शाखा, आठवटा एक्सटेन्सन काउन्टर, एक सय ६६ वटा शाखारहित बैंकिङ सेवा, दुई सय पाँचवटा एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।