नयाँ दिल्ली । उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले भारी रकम जरिवाना तिर्नुपरेको छ ।
सिन्ह्वाका अनुसार नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)ले सुरक्षा नियम उल्लंघन गरेकामा निजी वायुसेवा कम्पनी एयर विस्तारालाई १० लाख रुपैयाँ जरिवाना गरेको हो । एयर विस्तारालाई नागरिक उड्डयन निगरानीमा राखिएको डीजीसीएका अधिकारीले बताएका छन् ।
उडान र अवतरणको तालिम नलिएका एक जना सहचालकले हालै मध्यप्रदेश राज्यको इन्दौर विमानस्थलमा विमान अवतरण गराएका थिए । यात्रीका जीवनलाई जोखिममा पार्ने गम्भीर उल्लंघन विमान कम्पनीले गरेकामा उक्त रकम जरिवाना गरिएको नियामक निकायका अधिकारीले बताएका छन् ।