काठमाडौं । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने क्रममा भुक्तानी सेवाप्रदायक, फोकसवान प्रालिसँग कार्डमा आधारित स्क्यान टु पे र क्यूआर माध्यमबाट भुक्तानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरी सेवा प्रारम्भ गरेको छ ।
उक्त सेवा सञ्चालनमा आएसँगै बैंकका कार्डवाहकहरूले फोकसवानद्वारा सञ्चालित मोको डिजिटल वालेटमा बैंकका डेबिट/क्रेडिट कार्डहरू लिंक गरी सोही कार्डहरूबाट खर्च हुनेगरी विभिन्न सेवाहरू जस्तैः मोबाइल टप अप, इन्टरनेट, विद्युत्, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट भुक्तानीलगायतका सेवाहरू प्रयोग गर्न सक्नेछन् । यसैगरी बैंकका ग्राहकहरूले मोको वालेटमार्फत एनसीएचएलको नेपाल पेअन्तर्गतका क्यूआर माध्यमबाट भुक्तानी समेत गर्न सक्नेछन् ।
सिटिजन्स बैंकलगायतका विभिन्न बैंकहरूद्वारा प्रवर्द्धित नेपाल पेमेन्ट सोलुसन्स (नेप्स) तथा फोकसवानको सहकार्यमा प्रारम्भ गरिएको यो सेवाबाट बैंकको डिजिटल बैंकिङ सेवाको क्षेत्रमा नौलो आयाम थपिएको विश्वास बैंकले लिएको छ ।
बैंकले आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ई केवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुवात गरी सकेको छ । साथसाथै, बैंकका ग्राहकहरूको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरूको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरूसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरूको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी तथा ईमेल गरी प्राप्त गर्न सक्नेछन् ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहजरूपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ७४ वटा शाखा, एक सय २५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।