अमेरिका । अर्बपति इलोन मस्कले ट्विटर सम्झौता लत्याउने चेतावनी दिएका छन् । ४४ अर्ब डलरमा किन्न तयार भएका उनी पछिल्लो समय ट्विटरले आफ्नाबारे कुनै मागेको जानकारी दिन नमानेको भन्दै यस्तो चेतावनी दिन बाध्य भएका हुन् ।
कम्पनीका प्रयोगकर्ताबारे उनी निकै उत्सुक रहँदै आएका छन् । धेरै झूटा प्रयोगकर्ता रहेको र यसबारे आफूले थाहा पाउनुपर्ने उनको अडान रहँदै आएको छ । नियामक निकायमा पेस गरेको कागजातमा मस्कले उनले झूटा एकाउन्टबारे आफैँले तथ्यांक अनुमान लगाउने उल्लेख छ ।
यो पत्रले ट्विटर र मस्कबीचको झगडालाई प्रतिविम्बित गर्छ । यसअघि नै मस्कले खरिदबिक्री सम्झौता जहाँ जस्तो छ सोही अवस्थामा रहेको बताउँदै आएका छन् । तर ट्विटरले मस्कले उठाएको सवालबारे आफ्नै अडानको रक्षा गरेको छ । तर मस्कको विश्वासमा स्पाम र फेक (झूटा) खाता ट्विटरले भनेको पाँच प्रतिशतभन्दा धेरै रहेको छ ।
तर खरिद गर्न लागेको कम्पनीसँग भइरहेको मस्कको लफडाले यो लेनदेनले पूर्णता पाउनेमा आशंका छ । गत अप्रिलमा ट्विटरले मस्कको खरिदलाई स्वीकृत गरेको थियो ।