काठमाडौं । नेपाल बैंकले आर्थिक समृद्धिका लागि ‘वित्तीय साक्षरता’ नामक वित्तीय साक्षरता पुस्तिका प्रकाशन गरी सार्वजनिक गरेको छ । बैंकका अनुसार यही जेठ २३ गते सोमबार प्रधान कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र होम बहादुर खड्का, प्रधान कार्यालयका विभिन्न विभाग तथा डिभिजनका प्रमुखहरूलगायतको उपस्थितिमा उक्त पुस्तिका विमोचन गरिएको थियो ।
बैंकको मार्केटिङ तथा रिसर्च डिभिजनले तयार गरेको सो पुस्तिका विमोचन समारोहमा बैंकका सम्पूर्ण प्रदेशका प्रमुख र शाखा प्रबन्धकहरूको समेत भर्चुअलरूपमा उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले सम्पूर्ण नेपालीहरूमा वित्तीय ज्ञान र चेतनाको स्तरमा अभिवृद्धि गर्न सो पुस्तिका उपयोगी हुने विश्वास व्यक्त गर्दै वित्तीय साक्षरता कार्यक्रमहरूको प्रभावकारिताबाट नै आर्थिक समृद्धि हुनसक्ने विचार व्यक्त गरे ।
सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्काले नेपाल राष्ट्र बैंकको मार्गनिर्देशनबमोजिम वित्तीय साक्षरताका कार्यक्रमहरू अगाडि बढाइएको धारणा व्यक्त गर्दै यस पुस्तिकाले वित्तीय साक्षरता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
मार्केटिङ तथा रिसर्च डिभिजन प्रमुख अर्जुन बहादुर कंडेलले वित्तीय साक्षरता वित्तीय समावेशीकरणको महत्वपूर्णआयामको रूपमा रहेको उल्लेख गर्दै आगामी दिनमा सो पुस्तिकामा अझ सुधार र परिमार्जन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।