इस्लामावाद । पाकिस्तानमा पनि महंगी उच्च भएको छ । सेन्सिटिभ प्राइस इन्डेक्सको मापनअनुसार महंगी अघिल्लो हप्ताको तुलनामा २.६७ प्रतिशतले बढेको हो । खाद्य र ऊर्जाजन्य वस्तुको मूल्यवृद्धिका कारण महंगी बढेको बताइएको छ ।
पाकिस्तानको ब्युरो अफ स्टाटिस्टिक्सले शनिबार सार्वजनिक गरेको तथ्यांकले महंगी बढेको देखाएको हो । यो दर एक सय ४४ हप्तायताकै उच्च भएको बताइएको छ । इन्धनको मूल्य पाकिस्तानमा अहिले निकै उच्च हुनपुगेको छ । वर्षगत तुलनामा एसपीआई २३.९८ प्रतिशत रहेको देखिएको छ ।
महंगोमा इन्धन आयात गर्नुपर्दा अर्को हप्ता झनै बढ्ने अनुमान छ । पेट्रोल लिटरमा ३० पारु (पाकिस्तानी मुद्रा)ले महंगो भएको छ । अन्य पेट्रोलियम पदार्थको पनि मूल्य बढेको बताइएको छ । पाकिस्तानले पनि पेट्रोलियम पदार्थको बिक्री करमा कटौती गरेको छ । उसले पेट्रोलियममा लगाएको आयात शुल्कमा पनि कटौती गरेको छ । अर्थमन्त्री मिफ्ताह इस्माइलले बजेटपछिको सम्मेलनमा इन्धनको मूल्य अझै बढ्नसक्ने आकलन गरेका छन् ।
उनले इन्धनको मूल्यवृद्धि सब्सिडी घटाउनका लागि भएको दाबी गरेका छन् । पाकिस्तानी सरकारले आव २३ का लागि ११.५ प्रतिशतको लक्ष्यसीमा निर्धारण गरेका छन् ।