कोलम्बो । चरम आर्थिक संकट सामना गरिरहेको श्रीलंकाले रूससँग इन्धन खरिद गर्न आफू बाध्य हुनसक्ने बताएको छ ।
एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा प्रधानमन्त्री रनिल विक्रमसिंघेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने आफ्नो प्रयत्न हुने जनाउँदै उनले रूसी तेल खरिद गर्न आफू खुला रहेको बताएका हुन् ।
युक्रेन आक्रमणको विरोधमा पश्चिमा राष्ट्रले मस्कोमाथि कडा प्रतिबन्ध लगाएर उसबाट ऊर्जा आयात बन्द गरेका बेला प्रधानमन्त्री विक्रमसिंघेले रूसी तेल किन्न आफू खुला रहेको बताएका हुन् । बाह्य ऋण बढिरहेको भए पनि उनले चीनबाट थप आर्थिक सहयोग प्राप्त गर्न आफू इच्छुक रहेको बताएका छन् । आफ्नै कारणले आर्थिक संकट सामना गरिरहेको श्रीलंकालाई युक्रेन युद्धले अझ प्रभावित पारेको बताउँदै आफ्नो देशले आगामी दुईवर्षसम्म गम्भीर खाद्यान्न अभाव झेल्नुपर्ने सम्भावित परिस्थितिप्रति चिन्ता व्यक्त गरे ।
विदेशीमुद्रा सञ्चिति लगभग रित्तिएको श्रीलंकालाई आर्थिक संकटबाट पार लगाउन राष्ट्रपति गोटावाया राजपाक्षले प्रधानमन्त्री नियुक्त गरेका विक्रमसिङ्घे अर्थमन्त्री पनि हुन् ।
श्रीलंकाले साप्ताहिक इन्धन कोटा प्रणाली लागू गर्ने
श्रीलंकाले इन्धन खरिदमा कठिनाइलाई ध्यानमा राख्दै गाडीको लागि साप्ताहिक इन्धन कोटा प्रणाली सुरु गर्ने यहाँका ऊर्जामन्त्रीले आइतबार बताएको छ । सबै सवारी चालकलाई सबैभन्दा नजिकको पेट्रोल स्टेसनमा दर्ता गरिनेछ र जुलाईको पहिलो हप्तादेखि कोटा पेश गरिने विद्युत तथा ऊर्जामन्त्री कञ्चना विजेसेकराले बताए ।
उनले भने, ‘हामीले सवारी चालकहरूलाई इन्धन भर्ने स्टेसनमा दर्ता गराएर वित्तीय अवस्था स्थिर बनाई २४ घण्टा विद्युत आपूर्ति र इन्धनको अविच्छिन्न आपूर्ति गर्न नसक्दासम्म उनीहरूलाई साप्ताहिक कोटा तोक्नुको विकल्प छैन ।’ ‘विदेशी मुद्राको अभावलाई ध्यानमा राख्दै राज्यको स्वामित्वमा रहेको इन्धन वितरक सिलोन पेट्रोलियम निगमले एक हप्तासम्मका लागि मात्र इन्धन आयात गर्नेछ’, विजेसेकेराले भने ।
केही सवारी चालक तथा अन्य व्यक्तिहरूले आफ्नो मेसिन तथा जेनेरेटरको लागि एक महिना वा त्योभन्दा बढी इन्धन संकलन गर्न गरेकोले इन्धनको अभावबीच थप समस्या आएको उनको तर्क थियो । श्रीलंकाले फेब्रुअरीदेखि इन्धन अभावको सामना गर्दै आएको छ र इन्धनको लागि लामबद्ध हुनु मानिसहरूको दैनिकीको एक भाग बनेको छ ।