काठमाडौं । राजस्व अनुसन्धान विभागले पछिल्लो ८ महिनामा विभिन्न मुद्दामा २१ अर्ब ७२ करोड रूपैयाँबराबरको मागदाबी गरी मुद्दा दायर गरेको छ । विभागले विभिन्न एक सय १५ वटा मुद्दामा २१ अर्ब ७१ करोड ५२ लाख ३४ हजार पाँच सय ७४ रूपैयाँबराबरको बिगो र जरिवाना मागदाबी गरी मुद्दा दायर गरेको हो ।
विभागले उक्त अवधिमा राजस्व चुहावटसम्बन्धी ६९ वटा र विदेशी विनिमय अपचलनमा ४६ वटा मुद्दा दायर गरेको छ । विभागका अनुसार राजस्व चुहावटसम्बन्धी ६९ वटा मुद्दामा दुई सय तीन जनाविरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरूविरुद्ध कुल २० अर्ब ६१ करोड ३० लाख ८६ हजार सात सय ७९० रूपैयाँ बिगो दाबी गरिएको विभागले जनाएको छ । यस मुद्दामा १० अर्ब ३० करोड बिगो दाबी र १० अर्ब ३० करोड जरिवाना रकम राखिएको छ ।
यसैगरी, विदेशी विनिमय अपचलन विषयमा ४६ वटा मुद्दा दायर गरिएको छ । यसअन्तर्गत ७८ जनाविरुद्ध एक अर्ब १० करोड २१ लाख ४७ हजार सात सय ८४ रूपैयाँ बिगो दाबी गरिएको विभागले जनाएको छ । यसैगरी, यस अवधिमा भीसीटीएसमा छ सय ६८ वटा फर्म/सवारीलाई कारबाही गरिएको छ । यसमार्फत तीन करोड ४३ लाख २६ हजार रूपैयाँ संकलन भएको विभागको भनाइ छ । विभागका महानिर्देशक प्रकाश पौडेलले २०७८ साल असोज १८ गतेबाट उक्त संख्यामा कारबाही तथा मुद्दा दायर गरिएको सोमबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।