अमेरिका । बिटक्वाइनको मूल्यमा यो हप्ता निकै गिरावट आएको छ । बुधबार प्रतिबिटक्वाइन २० हजार डलरमाथि कारोबार भएको सीएनएनले जनाएको छ । विश्वकै महंगो मानिएको बिटक्वाइन सोमबारयता मात्रै १५ प्रतिशतले गिरावट आएको छ । शुक्रबारयता यो तेस्रो गिरावट हो ।
क्रिप्टो एक्सचेन्ज क्वाइनबेसका अनुसार गत वर्ष नोभेम्बरमा हालसम्मकै उच्च भएको बिटक्वाइन त्यसयता हाल ७० प्रतिशतले अवमूल्यन भएको छ । त्यतिबेला बिटक्वाइन ६९ हजार डलरसम्म पुगेको थियो । कोरोनाको विश्व महामारीयता लगातार बिटक्वाइनको मूल्य बढ्दै आएको थियो ।
दोस्रो ठूलो मूल्यवान् मानिएको डिजिटल मुद्रा नोभेम्बरयता ७८ प्रतिशतले गिरावट आइसकेको छ । पछिल्लो समय विश्वमा महंगी बढिरहेको छ । सोही कारण विश्वका केन्द्रीय बैंकहरुले ब्याजदरमा वृद्धि गरिरहेका छन् । जोखिमपूर्ण स्थानमा लगानी गरेकाहरुले पनि डिजिटल मुद्राहरुमा गरेका लगानी सुरक्षित गर्न चाहिरहेका छन् । सोही कारण पनि अहिले यी क्षेत्रमा ठूलो गिरावट देखिएको हो ।