काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई उनीहरूको आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाअन्तर्गत यो सुविधा ल्याएको हो । बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था हो ।
यस योजनाअन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आईएमई बैंकको वेबसाइटमार्फत अनलाइनबाट आवेदन दिनुपर्नेछ । कार्डप्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो डिजाइनअनुसारको कार्डलाई भर्चुअल रूपमा हेर्न र आफूलाई मनपर्ने डिजाइन छनोट गर्न सक्नेछन् । ग्राहकहरूसँग वेबसाइटमा पूर्वडिजाइन गरिएका कार्डको विविधता छनोट गर्ने विभिन्न विकल्पहरू समेत उपलब्ध हुनेछन् ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजना सार्वजनिक गरेको हो । यस्ता नवीनतम प्रविधिहरूको प्रयाग गर्दै बैंकले समय सापेक्षताअनुरूप ग्राहकहरूलाई लावान्भित गर्दै आएको छ । ७६ जिल्लामा बैंकको दुई सय ८८ वटा शाखा कार्यालयहरू, दुई सय ६२ वटा एटीएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब आठ सय ७५ सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।