काठमाडौं । ज्योति विकास बैंकले शुक्रबार मणिग्राम र परासीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पु¥याउने उद्देश्यका साथ नयाँ शाखाहरू सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ ।
तिलोत्तमा नगरपालिका वडा नं. ५, रूपन्देहीस्थित मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर राम कृष्ण खाण र बैंकका सञ्चालक सुरेन्द्र बहादुर नेपालीले संयुक्तरूपमा गरेका हुन । साथै, रामग्राम नगरपालिका वडा नं. ३ परासीस्थित परासी शाखाको समुुद्घाटन रामग्राम नगरपालिकाका मेयर धनपत यादव र बैंकका सञ्चालक मन महर्जनले संयुक्तरूपमा गरेका हुन् । उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्य, बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरू, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरूको पनि उपस्थिति रहेको थियो ।
नयाँ शाखाहरूको उद्घाटन अवसरमा बैंकले मणिग्राम र परासी शाखाका ग्राहकहरूको निमित्त शून्य मौज्दातमै क्यूआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर रजिस्ट्रेसन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दती निक्षेपहरूमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा शून्य दशमलव २५ प्रतिशत छुटलगायत विभिन्न सुविधाहरू प्रदान गर्ने भएको छ ।