काठमाडौं । आफूलाई नेपाल प्रहरीका डीएसपी रतन खड्काको दाइ बताउने महेश खड्का नाम गरेका एक अपरिचित व्यक्तिले आइतबार राति आर्थिक दैनिकको कार्यालयमा गरेको आक्रमण प्रयासकोे निष्पक्ष छानबिन गरी कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ ।
महासंघले सोमबार विज्ञप्ति जारी गर्दै आर्थिक दैनिकको कार्यालयमा राति कार्यरत कर्मचारी तथा पत्रकारहरुमाथि भएको कुटपिटको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र दोषीलाई तत्काल पक्राउ गरी आवश्यक छानबिनको साथै कारबाही गरी सुरक्षाको प्रत्याभूति दिलाउन समेत माग गरेको छ ।
आइतबार राति करिब ९ बजे आर्थिक दैनिकको कार्यालयमा आफूलाई डीएसपी रतन खड्काको दाइ बताउने महेश खड्का अकस्मात् प्रवेश गरी समाचार कक्षमा पत्रकार र कर्मचारीहरुलाई झम्टिनुको साथै तोडफोडको प्रयाससमेत गरेका थिए ।
यसैबीच आर्थिक दैनिकको कार्यालयमा भएको घटनाको जानकारी पाएलगत्तै आफ्नो धारणा सार्वजनिक गरेको महासंघको विज्ञप्तिलाई लिएर ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञ विनोद पोखरेलले आपत्ति जनाएका छन् ।
सोमबार प्रहरीका विभिन्न युनिटहरुबाट निरीक्षणको लागि आर्थिक दैनिकको कार्यालयमा आएकामध्ये इन्स्पेक्टर समेत रहेकी शान्ता वाइवाले एसपी सिद्धि विक्रम शाहलाई ठाडो निवेदन दिन दिएको सुझावअनुसार निवेदन बोकेर गएका आर्थिक दैनिकका प्रतिनिधिलाई एसएसपी पोखरेलको कोठामा लिएर गएका शाहकै अगाडि एसएसपी पोखरेलले महासंघले निकालेको विज्ञप्तिमा आफ्नो घोर आपत्ति रहेको बताए ।
प्रहरीलाई खबर गरेर आवश्यकताअनुसार अनुसन्धानको लागि जाहेरी नदिई सिधै महासंघ लगायत विभिन्न सञ्चारमाध्यममा आएको समाचारले प्रहरीको कार्यक्षमतामा प्रश्न उठ्ने र राज्य संयन्त्र नै नभएको पुष्टि हुने भन्दै यस्तो निवेदन आफूहरुलाई नदिएकोमा आफ्नो तर्फबाट असहमति रहेको उनले बताए । उनले तिललाई पहाड र पहाडलाई तिल समेत बनाउन सकिने भन्दै यस्तो कार्यमा गम्भीर हुन समेत आग्रह गरे ।
आर्थिक दैनिकमा प्रवेश गरेका आफू डीएसपी रतन खड्काको दाइ बताउने महेश खड्काले तोडफोड तथा कर्मचारीहरुलाई आक्रमण गर्न थालेलगत्तै प्रहरीलाई खबर गरिएकोमा एक किलोमिटर आसपास रहेको प्रहरी आउन २० मिनेटभन्दा बढी समय लगाएको थियो ।
प्रहरी आएलगत्तै सडकमा लगिएको खड्कालाई तुरुन्तै स्कुटरमा आएका व्यक्तिलाई कुनै सोधपुछ नै नगरी प्रहरीले जिम्मा लगाएर पठाउनुले यस घटना योजना बद्ध रहेको आशंका गर्न सकिन्छ । महेश खड्काले आफ्नो भाइ रतन खड्का भनेर बताए पनि उनका भाइको वास्तविक नाम रोशन खड्का रहेको र पारिवारिक हिसाबमा दाजुभाइको सम्बन्ध समेत राम्रो नरहेकोले भाइको इमेज खराब गर्नलाई नै नाम लिई दुरुपयोग गरेको पाइएको छ ।