काडमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले ईपीएस प्रणालीमार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षाकेन्द्रको अनुगमन गरेका छन् । मन्त्री कुँवरले मंगलबार दिउँसो ललितपुरको भैँसेपाटीमा रहेको परीक्षाकेन्द्रमा गएर परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नुपर्ने नियमका बारेमा जानकारी लिएका हुन् ।
रोजगारीका लागि नेपालबाट कोरिया जाने कामदारको वैदेशिक रोजगार विभागअन्तर्गत पर्ने ईपीएस कोरिया शाखाले प्रत्येक वर्ष परीक्षा लिने गर्दछ । यो वर्ष पनि जेठ १९ देखि असार ३ गतेसम्म पहिलो चरण र असार १३ गतेदेखि दोस्रो चरणमा परीक्षा भइरहेको छ । एक पटक दुई सय जनाले परीक्षा दिइरहेका छन् । अहिले विद्यार्थीले यूबीटीमार्फत परीक्षा दिइरहेका छन् । परीक्षाको एक दिनअघि विद्यार्थीको बाडोमेटिक तथ्यांक राख्ने काम गरिन्छ । त्यसमा परीक्षामा सहभागी हुने विद्यार्थीको सबै जानकारी राखिन्छ र सोही आधारमा अर्को दिन कोरियनले परीक्षा लिने गर्दछन् । यो वर्ष ४४ हजार जना कृषि र पशुपानतर्फको परीक्षमा सहभागी भएको ईपीएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालले जानकारी दिए ।