काठमाडौं । एनएमबी बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विरेन्द्रनगर सुर्खेत–१६ स्थित सरस्वती प्राथमिक विद्यालयको छानामाथिको पुनर्संरचना र कक्षाकोठाको मर्मत गरेको छ । गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरू खुला चौरमै पढ्न बाध्य थिए ।
एक कार्यक्रममाझ बैंकले चारवटा कोठाको पुनर्निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो । उक्त कार्य परियोजनाको समापन तथा हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट क्षेत्रीय प्रबन्धक मित्रराज प्याकुरेल, कर्मचारीहरू निर्मल गौलीलगायत उपस्थित थिए भने विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समिति शिक्षक तथा विद्यार्थी र पत्रकारहरूलगायत सदस्यहरू उपस्थित थिए ।
उक्त कार्यक्रममा क्षेत्रीय प्रबन्धक प्याकुरेलले यस सहकार्यले विद्यार्थी भाइबहिनीहरूमा पठनपाठनमा सहज हुने विश्वास व्यक्त गरे । बैंकले वित्तीय कारोबार मात्र गर्ने थाहा भए पनि सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफूहरू हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताए । ‘सामाजिक कार्यमा एनएमबी बैंकको सहकार्यले शिक्षक, विद्यार्थी र अभिभावकमा खुसी छौँ ।’ प्रधानाध्यापक खड्काले भने, ‘वीरेन्द्रनगरकै विकट वडा भएकाले विद्यालयमा सेवा सुविधा छैन । यस्तो अवस्थामा बैंकले गरेको सहयोग अतुलनीय छ । ’
विगत २६ वर्षदेखि अनवरत रूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
बैंकले हाल देशभरि दुई सय एकवटा शाखाहरू, एक सय ३८ वटा एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।