नयाँ दिल्ली । भारतको केन्द्रीय सरकारका दुई मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रिपरिषद्का सदस्यद्वय मुख्तर अब्बास नाक्भी र आरसीपी सिंहले राजीनामा दिएका हुन् ।
उनीहरू दुवै जना राज्यसभा सदस्य थिए । उनीहरूको राज्यसभा सदस्यको कार्यकाल बिहीबारदेखि सकिने भएकाले एक दिन अगाडि नै मन्त्रीपदबाट राजीनामा दिएका हुन् । मन्त्री भएकै बेला संसद् सदस्यको म्याद सकिएर मन्त्री पद छोड्नुपरेको यो पहिलो पटक हो । उनीहरू फेरि निर्वाचित हुनुअगाडि छ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था छ ।
उनीहरूलाई फेरि मन्त्रीको रूपमा शपथ खुवाइने सम्भावना पनि रहेको छ । हालै भएको राज्यसभा निर्वाचनबाट धेरै नेता निर्वाचित भएर आएका छन् । भारतको उत्तर प्रदेश, महाराष्ट्र, मध्य प्रदेश र राजस्थानमा राज्यसभा निर्वाचन हालै भएको हो । अहिले भएको निर्वाचनमा नाक्भीलाई भने पार्टीले उम्मेदवार बनाएको थिएन । जेडीयू गठबन्धनको तर्फबाट विहारबाट निर्वाचित भएका आरसीपी सिंहले सन् २०२१ को जुलाई ७ मा शपथ लिएका थिए ।