काठमाडौं । नेपालमा दुई हजार पाँच सय ४८ जनसंख्या बराबर एकवटा बैंक तथा वित्तीय संस्थाले सेवा दिइरहेको तथ्यांक सार्वजनिक भएको छ । यद्यपि नेपालमा बैंक तथा वित्तीय संस्थामार्फत भन्दा नगदमै कारोबार गर्ने र घरको ढुकुटीमा पैसा राख्नेको जनसंख्या अत्यधिक छ । बैंक तथा वित्तीय संस्थाहरुले सबै क्षेत्रमा नभई सुगम र सहरी क्षेत्रमा मात्र आफ्ना शाखा विस्तार गरेका छन् । कतिपय सहरमा एउटै घरमा दुई/तीन वटाभन्दा बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय पनि सञ्चालनमा छन् ।

नेपालमा २०७८ सालको जनगणनाअनुसार दुई करोड ९१ लाख ९२ हजार चार सय ८० जना जनसंख्या छन् भने बैंक तथा फाइनान्स कम्पनीहरूको कुुल शाखा संख्या भने ११ हजार चार सय ५३ पुुगेको छ । जसमध्ये वाणिज्य बैंकहरूको कुल शाखा संख्या चार हजार नौ सय ७२, विकास बैंकहरूको एक हजार आठ, फाइनान्स कम्पनीहरूको दुुई सय ६४ र लघुुवित्त वित्तीय संस्थाहरूको पाँच हजार एक सय नौवटा शाखाहरू सञ्चालनमा छन् । यसअघि अर्थात् २०७८ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूको कुुल शाखा संख्या १० हजार छ सय ८३ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०७९ को वैशाख मसान्तसम्ममा प्रदेश नम्बर एकमा एक सय ३७ स्थानीय तह रहेकोमा सबै तहमा बैंकको शाखा पुुगेको छ । प्रदेश नम्बर दुुईमा पनि एक सय ३६ स्थानीय तह रहेकोमा सबैमा बैंकको शाखा पुुगेको छ । बागमती प्रदेशमा भने एक सय १९ स्थानीय तह रहेकोमा एक सय १८ स्थानीय तहमा बैंकहरूको शाखा पुुगेको छ । यसैगरी गण्डकी प्रदेशमा ८५ स्थानीय तह रहेकोमा ८५ स्थानीय तहमा बैंकहरूको शाखा पुुगेको छ । लुम्बिनी प्रदेशमा पनि एक सय नौ स्थानीय तह रहेकोमा एक सय नौ नै स्थानीय तहमा नै बैंकहरूको शाखा पुुगेको छ ।
कर्णाली प्रदेशमा भने ७९ स्थानीय तह रहेकोमा ७८ स्थानीय तहमा बैंकहरूको शाखा पुुगेको छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह रहेकोमा ८७ स्थानीय तहरूमा बैंकहरूको शाखा पुगेका छन् । हालसम्म दुई सय ४३ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपछि २०७९ वैैशाख मसान्तसम्ममा कुुल दुुई सय ४३ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका हुुन् । यसमध्ये एक सय ७७ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ६६ वटा संस्था मात्र कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको कुुल संख्या भने यस अवधिमा एक सय २७ वटा कायम भएको छ । सोअनुुरुप २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ६५ वटा लघुुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूले भने सात सय ५० स्थानीय तहमा शाखा विस्तार गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो १० महिनाको विस्तृत प्रतिवेदनअनुसार सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये अब वाणिज्य बैंकहरूको शाखा पुुग्न बाँकी रहेको स्थानीय तहको संख्या तीन मात्र रहेको छ । जसमध्ये धादिङ जिल्लाको रुवीभ्याली, जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका र बझाङ जिल्लाको काँडा गाउँपालिका समेत गरी तीनवटा जिल्लाको तीन स्थानीय तहमा वाणिज्य बैंकहरूको शाखा पुुग्न बाँकी देखिएको छ ।