बैतडी । जिल्लाको पाटनमा बसपार्क निर्माणको काम अलपत्र परेको छ । आर्थिक वर्ष २०७१/७२ मा निर्माण सुरु गरिएको बसपार्क आठ वर्ष पुग्दा पनि अहिलेसम्म पूरा हुन नसकेको हो । पाटनमा सवारीसाधनको चापलाई ध्यानमा राखेर बसपार्क निर्माणको काम अघि बढाइए पनि समयमै निर्माणको काम सम्पन्न नहुँदा स्थानीय बासिन्दा समेत निराश भएका छन् ।
आठवटा बस र चारवटा जीप एकै पटक पार्किङ गर्नसक्ने क्षमताको बसपार्क निर्माणको काम अलपत्र पर्दा समस्या भएको उनीहरूले बताए । बसपार्क निर्माणको काम ढिलाइ हुँदा सवारीसाधन बजारमै पार्किङ गर्ने गरिएको स्थानीय दिनेश विष्टले जानकारी दिए । उनका अनुसार बसपार्क निर्माण गर्न ढिलाइ भएको छ, अव्यवस्थितरूपमा बजारमै पार्किङ गरिँदा दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ ।
बसपार्क निर्माणअन्तर्गत अपांगमैत्री शौचालय, बस र जिपका लागि छुट्टाछुट्टै पार्किङ, आरसीसी बाटो, काउन्टर भवन निर्माण गरिने उल्लेख भए पनि अहिलेसम्म काउन्टर भवन बन्न सकेको छैन । सुरुमा बजेटको अभाव, संघीयतापछि सम्बन्धित कार्यालय केही समय संघ र केही समय प्रदेश मातहत रहँदाको अन्यौल, कोभिडलगायत कारणले बसपार्क निर्माणमा ढिलाइ भएको भनिए पनि एउटै बसपार्क आठ वर्षदेखि निर्माण पूरा नहुँदा स्थानीयवासी निराश भएका हुन् ।
पाटन नयाँ सहर आयोजनाअन्तर्गत बसपार्क निर्माण भइरहेको भए पनि निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा समेत निर्माणको काम सम्पन्न हुन सकेको छैन । पाटन नयाँ सहरमा व्यवस्थित बसपार्कको अवधारणाअन्तर्गत बसपार्क निर्माणको काम सुरु भए पनि विभिन्न कारणले अझै पनि निर्माण हुन नसकेको पाटन नयाँ सहर आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर रोहितराज भण्डारीले बताए । एक सय ३० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बसपार्कको ९० प्रतिशत काम पूरा भइसकेको भए पनि केही काम अझै बाँकी छ । उनले भने, ‘बसपार्कअन्तर्गत काउन्टर भवन र आरसीसी बाटो निर्माण गर्न बाँकी रहेको छ ।
त्यसका लागि ठेक्का जिम्मा पाएको प्रमोद कन्सट्रक्सनले यो वर्ष काम अघि बढाउन सकेको छैन ।’ समयमै बसपार्क निर्माण नहुँदा बनेका संरचना समेत जीर्ण हुन थालेका छन् ।