काठमाडौं । मुलुकको लागि आफ्नो आवश्यकता महसुस भएको र आफूसँग त्यो क्षमता र योग्यता भएकै कारण आफू राजनीतिमा आएको नेपाली कांग्रेसका युवा नेता डा. प्रनय राणाले बताएका छन् । काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिनिधिसभा सदस्य उम्मेदवारका आंकाक्षी समेत रहेका डा. राणाले विगतमा पनि आफूले विभिन्न क्षेत्रमार्फत देश जनताको लागि काम गरेको र त्यो कामलाई अझै उचाइ दिनकै लागि राजनीतिमा होमिएको बताएका हुन् ।
विभिन्न कालखण्डदेखि हालसम्म नेपाली राजनीतिमा निरन्तर लागिरहेका राणासँग मुलुकको आर्थिक विकास, समृद्धि र दिगो शान्ति कायम गर्नसक्ने सुझबुझ र क्षमता रहेको बुझाइ उनीसँग प्रत्यक्ष अप्रतक्षरूपमा जोडिएका आम नागरिकको बुझाइ रहेको छ । ‘उहाँहरूको बुझाइलाई न्याय गर्न म नेपाली राजनीतिमा होमिएको हुँ’, राणा भन्छन् । आफूसँग यो मान्छेले केही राम्रो काम गर्छ है भन्ने धेरै नागरिकको आशा, भरोसा र विश्वास रहेकै कारण आफूले आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिने तयारी गरेको उनको भनाइ छ ।
‘यस अर्थमा म प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारको आकांक्षी हुँ’, उनी भन्छन्, ‘काठमाडौं क्षेत्र नं ५ मा स्थानीय नेताको भ्याकुम रहेको छ । यहाँका स्थानीय नेताले राष्ट्रियस्तरमा अहिलेसम्म नेतृत्व लिएका छैनन्, म त्यो नेतृत्व लिनकै लागि अर्थात् भनौँ त्यो भ्याकुम फुलफिल गर्नकै लागि आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिन लागेको हुँ ।’
‘आफू यो क्षेत्रमा हेभिवेटेड व्यक्तित्व भएको र आफूले क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा विभिन्न सेवाहरूमा संलग्न रहँदा हाँसिल गरेको अनुभव, कामहरू, आफ्नो पेसागत, राजनीतिक एवं सामाजिक सम्बन्ध र आफू जुन समाजमा अर्थात् क्षेत्रमा बस्छु, त्यो समाजले आफूप्रति देखाएको विश्वास नै आफ्नो जित्ने आधार भएको उनी बताउँछन् । पहिला आफू नेपाली सेनामा द्वन्द्वकालीन अधिकृत भएको उनको भनाइ छ ।
यो क्षेत्रमा अहिले ठूलो संख्यामा रिटायर्ड, बहालवाला आर्मी, पुलिस अफिसरहरू, सरकारका विभिन्न सेवामा रहेका उच्चपदस्थ व्यक्तिहरू बस्नुहुन्छ, सबैसँग म भिजेको छु, उहाँहरूसँग नजिक छु । यहाँ झण्डै छददेखि सात सयको संख्यामा यस्ता व्यक्तित्व हुनुहुन्छ । त्यो समूहमा मेरो एक्स्पोज राम्रो छ । यसबाट पनि मलाई चुनावमा उठ्न ऊर्जा मिलेको छ, उनी भन्छन् । यसबाहेक आफूले १४ सयको हाराहारीमा विद्यार्थीहरू पढाएको र ती धेरै विद्यार्थीहरू अहिले कुनै न कुनै रूपमा मसँग यही क्षेत्रमा जोडिएका छन्, यसले पनि मलाई आशावादी बनाएको छ’, उनी भन्छन् ।
नेपाली कांग्रेसको महाधिवेशनमा पनि पपुलर भोट पाएका डा. राणा निकै लामो समयसम्म ‘इनफ इज इनफ’ अभियानमा पनि सहभागी भएका थिए । विगत लामो समय अमेरिकामा बसेर अध्ययन सकेपछि आफ्नै देशमा केही गर्ने दीर्घकालीन सोचका सात स्वदेश फर्किएका डा. राणासँग समाजका विभिन्न तह र तप्कासँग मिलेर सामाजिक कार्यहरू गरेको निकै लामो अनुभव रहेको छ । अहिले उनले आफ्नै क्षेत्रका बच्चाहरूलाई पनि विभिन्न माध्यमबाट जीवनउपयोगी शिक्षा दिइरहेका छन् ।
यी सबै कुराबाट पनि आफूलाई राजनीतिमा आउन र प्रतिनिधिसभाको निर्वाचन जित्ने आत्मविश्वास बढेको डा. राणाको बुझाइ छ । चाहे विसं २०७२ सालको विनाशकारी भूकम्प होस् वा चाहे कोभिड १९ को विश्व महामारी, धेरै नेपाली नागरिकको सुखदुःखको साथी बनेका डा. राणाले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू पनि प्राप्त गरेका छन् । ‘यो सम्मान, यो उपलब्धि र आम नागरिक जोसँग म भिजेको छु, सँगै रुझेको छु, त्यो जमात अर्थात् भनौँ त्यो समुदायको लागि पनि केही गर्न म राजनीतिमा आएको हुँ, आशा छ मेरो यो राजनीतिक यात्रालाई आम नागरिकको साथ र सहयोगले सफल बनाउनेछ’, डा. राणा भन्छन् ।