काठमाडौं । सरकारले विगतमा उत्पादनशील उद्योगहरुलाई मात्र समेटी राष्ट्रिय औद्योगिक सर्वेक्षण गर्दै आएकोमा त्यसलाई विस्तार गर्दै उद्योग प्रतिष्ठानको सर्वेक्षण गरेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार सर्वेक्षणको नतिजाअनुसार सन्दर्भ अवधिमा जम्मा ६० हजार एक सय ८५ जना उद्योग प्रतिष्ठानहरु सञ्चालनमा छन् ।
तीमध्ये खानी तथा उत्खनन क्षेत्रमा तीन सय ५६ वटा, औद्योगिक उत्पादन क्षेत्रमा ५६ हजार छ सय ११ वटा, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा नौ सय ९४ वटा र पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा दुई हजार दुई सय २४ वटा उद्योग प्रतिष्ठानहरु छन् ।
विभागले गरेको सर्वेक्षणमा उद्योग प्रतिष्ठानहरुमा संलग्न व्यक्तिहरुको संख्या समेत सार्वजनिक गरिएको छ । जसअनुरुप उद्योग प्रतिष्ठानहरुमा संलग्न व्यक्तिहरुको संख्या भन्नाले प्रतिष्ठानमा सक्रिय रुपले कार्यरत व्यवसायी तथा साझेदारहरु, बेतलबी पारिवारिक कामदारहरु र तलबी कामदारहरु पर्ने सर्वेक्षणमा जनाइएको छ । सर्वेक्षणको नतिजाअनुसार औद्योगिक क्षेत्रका चारवटै प्रकारका औद्योगिक प्रतिष्ठानहरुमा संलग्न रहेका व्यक्तिहरुको संख्या चार लाख ९१ हजार दुई सय २७ जना रहेको छ । तीमध्ये खानी तथा उत्खनन क्षेत्रमा छ हजार चार सय ८५ जना, औद्योगिक उत्पादन क्षेत्रमा चार लाख ४४ हजार नौ सय ६४ जना, विद्युत्, ग्यास, वाफ तथा वातानुकूलित सेवा क्षेत्रमा २१ हजार पाँच सय ९३ जना र पानीको आपूर्ति : ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा १८ हजार एक सय ८५ जना व्यक्तिहरु संलग्न भएको देखिएको छ ।
सर्वेक्षणले संलग्न व्यक्तिको संख्या तथा रोजगारी भएको व्यक्तिहरुको संख्यालाई समेत वर्गीकरण गरिएको छ । जसअनुरुप रोजगार व्यक्तिहरुको संख्याअन्तर्गत प्रतिष्ठानबाट नियमित रुपले तलब, ज्याला लिने गरी कार्यरत कर्मचारी तथा कामदारहरु पर्दछन् । सर्वेक्षणको नतिजाअनुसार औद्योगिक क्षेत्रका चारवटै प्रकारका औद्योगिक प्रतिष्ठानहरुमा रहेका तलबी कामदारको संख्या तीन लाख ८१ हजार छ सय ८७ जना रहेको छ । तीमध्ये खानी तथा उत्खनन क्षेत्रमा पाँच हजार सात सय १९ जना, औद्योगिक उत्पादनशील क्षेत्रमा तीन लाख ४६ हजार एक सय ४३ जना, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा १७ हजार दुई सय ३८ जना र पानीको आपूर्ति: ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा १२ हजार पाँच सय ८७ जना देखिएको छ ।
सेवा सुविधाको हकमा भने सर्वेक्षणले तलब/ज्याला तथा सुविधा भन्नाले सन्दर्भ अवधिमा तलबी कामदारहरुको लागि औद्योगिक प्रतिष्ठानहरुले खर्च गरेको कुल रकम (नगद, जिन्सी र अन्य सुविधाहरु समेत) भन्ने बुझिने जनाएको छ । सर्वेक्षणको नतिजाअनुसार सन्दर्भ अवधिमा औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानहरुमा कार्यरत तलबी कामदारहरुको लागि तलब/ज्याला र सुविधामा गरेको जम्मा खर्च करिब एक खर्ब सात अर्ब ८९ करोड रहेको छ । सोमध्ये खानी तथा उत्खनन क्षेत्रमा करिब एक अर्ब ८० करोड, औद्योगिक उत्पादन क्षेत्रमा करिब ९५ अर्ब ७७ करोड, विद्युत्, ग्यास, वाफ तथा वातानुकूलित सेवा क्षेत्रमा करिब छ अर्ब ९२ करोड र पानीको आपूर्ति : ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा करिब तीन अर्ब ४० करोड रकम कामदारको तलब/ज्याला तथा सुविधामा खर्च भएको देखिएको छ ।
यसैबीच, विगतमा उत्पादनशील उद्योगहरुलाई मात्र समेटी गणना तथा सर्वेक्षण गर्दै आएकोमा अन्तर्राष्ट्रिय मान्यताबमोजिम अन्य थप तीन क्षेत्रहरुलाई समेत समेटी हालको राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ सम्पन्न गरिएको विभागको भनाइ छ । अन्तर्राष्ट्रिय स्तरीय औद्योगिक वर्गीकरणअनुसार तयार गरिएको नेपाल स्तरीय औद्योगिक वर्गीकरण (एनएसआइसी) अन्तर्गत हाल गरिएको सर्वेक्षणमा समावेश गरिएका क्षेत्रहरुअन्तर्गत भने खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित सेवा र पानीको आपूर्ति अर्थात् ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरु रहेका छन् । राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ को सन्दर्भ अवधिमा २०७५ साउन १ देखि असार मसान्तसम्म अर्थात् आर्थिक वर्ष २०७५/०७६ रहेको छ ।
विभागले यसअघि प्रत्येक पाँच/पाँच वर्षमा १० वा सोभन्दा बढी व्यक्तिहरु संलग्न भएका ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानहरुको पूर्ण गणना विधिबाट औद्योगिक गणनाहरु तथा करिब १०/१० वर्षको फरकमा नौ वा सोभन्दा कम व्यक्तिहरु संलग्न भएका साना उत्पादनशील औद्योगिक प्रतिष्ठानहरुको छनौट विधिबाट साना औद्योगिक सर्वेक्षणहरु सम्पन्न गर्दै आएको छ ।