काठमाडौं । बाग्मती प्रदेशमा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूको संख्या ६२ लाख ५९ हजारभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको प्रदेशगत वित्तीय सेवा तथा वित्तीय उपकरणको स्थितिसम्वन्धी अध्ययन प्रतिवेदनअनुसार सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरूसहितका कुल ६१ वटा संस्थाहरूमा कुल मोबाइल बैंकिङ प्रयोगकर्र्ताहरूको संख्या ६२ लाख ५९ हजार नौ सय २५ पुगेको हो । राष्ट्र बैंकका अनुसार यो संख्या चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्मको हो ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ११ हजार दुई सय १५ मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा दुई हजार आठ सय ६६ रहेको राष्ट्र बैंकको भनाइ छ । सबैभन्दा कम कर्णाली प्रदेशमा केवल चार सय ४४ वटा शाखाहरू रहेका छन् । चालू आवको छ महिनामा मधेश प्रदेशमा सञ्चालित बैंक वित्तीय संस्थाहरूको शाखा संख्या एक हजार सात सय तीन रहेको छ । यसैगरी मोबाइल बैंकिङ प्रयोगकर्ता सबैभन्दा बढी बागमती प्रदेशमा ६२ लाख ५९ हजार नौ सय २५ रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा चार लाख ८३ हजार ८१ रहेको छ । मधेश प्रदेशमा मोबाइल बैंकिङ प्रयोगकर्ता १६ लाख १० हजार आठ सय ३३ रहेको राष्ट्र बैंकको भनाइ छ ।
इन्टरनेट बैंकिङ प्रयोगकर्ता सबैभन्दा बढी बागमती प्रदेशमा नौ लाख ३९ हजार छ सय ६३ पुगेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा नौ हजार नौ सय ६८ रहेको छ । डेबिड कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८–०७९ को प्रथम अर्धवार्षिक अवधिको कुल निक्षेप परिचालनमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ६८ दशमलव ७६ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको अंश सबैभन्दा कम १ प्रतिशत मात्र रहेको छ । कुल निक्षेप परिचालनमा मधेश प्रदेशको योगदान पाँच दशमलव शून्य चार प्रतिशत रहेको छ । कुल कर्जा प्रवाहमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ५५ दशमलव ८६ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको अंश एक दशमलव १९ प्रतिशत रहेको छ । कुल कर्जा प्रवाहमा मधेश प्रदेशको अंश नौ दशमलव १३ प्रतिशत रहेको छ । कृषि क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी बागमती प्रदेशको हिस्सा ३४ दशमलव ३३ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको एक दशमलव ५१ प्रतिशत रहेको छ ।
मधेश प्रदेशमा कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १६ दशमलव ६२ प्रतिशत रहेको छ । विपन्न वर्गमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ४५ दशमलव ७६ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा एक दशमलव ९४ प्रतिशत रहेको छ । सहुलियतपूर्ण कर्जातर्फ सबैभन्दा बढी बागमती प्रदेशमा ३० दशमलव ६५ प्रतिशत प्रवाह भएको देखिन्छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम एक दशमलव ३१ प्रतिशत रही सबभन्दा कम कर्जा प्रवाह भएको देखिन्छ । पुनर्कर्जातर्फ सबभन्दा बढी बागमती प्रदेशमा ४२ दशमलव ६० प्रतिशत प्रवाह भएको देखिन्छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम दुई दशमलव ३० प्रतिशत मात्र कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।