काठमाडौं । एनएमबीले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूलाई लक्षित गरी डिजिटल भुक्तानीको लागि फ्लाइवायर कर्पोरेसनसँग द्विपक्षीय समझदारी गरेको छ । यो समझदारीसँगै एनएमबी बैंक फ्लाइवायरको तर्फबाट विश्वभरका एक हजार सात सयभन्दा बढी शैक्षिक संस्थाहरूमा भुक्तानीको लागि नेपालको एकमात्र बैंक भएको छ । नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूले फ्लाइवायरमार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीको लागि कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सक्नेछन् ।
अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपाली ग्राहकहरूका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र सुरक्षा जोखिमयुक्त थियोे । त्यसैगरी रकम प्राप्त हुने संस्थामा पनि ट्युसन शुल्कहरू सजिलै ट्रयाक गर्न र विभिन्न मुद्रामा भएको भुक्तानी स्वीकार गर्न पनि गाह्रो हुने तथा धेरै कागजी प्रक्रियाहरू पूरा गर्नुपर्ने बाध्यता थियो । हाल एनएमबी बैंक र फ्लाइवायरले सँगसँगै अन्तर्राष्ट्रिय शैक्षिक खर्चको भुक्तानीको लागि एक नयाँ प्रकारको उच्च डिजिटल प्रविधियुक्त सेवा प्रदान गर्दै छन् ।
‘फ्लाइवायरसँगको सहकार्यले हामी ग्राहकहरूको लागि विभिन्न जोखिमहरू हटाई एक सुव्यवस्थित भुक्तानी प्रदान गर्ने लक्ष्य राख्द्छौँ । हामी विश्वस्त छौँ कि यो साझेदारी हाम्रो मूल्यवान् ग्राहकहरूको लागी अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानीको लागि एकद्वार समाधानको स्रोतले गर्दा महत्वपूर्ण हुनेछ ।’ एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने । ‘हाम्रा अष्ट्रेलिया, अमेरिका, क्यानाडाका र अन्य सबै ग्राहकहरूले पनि नेपालबाट अध्ययन गर्न आउने विद्यार्थीहरूलाई अझ सरल भुक्तानी माध्यमको लागि सोधिरहेको सन्दर्भमा हामी एक अद्वितीय भुक्तानी सुविधा प्रदान गर्न एनएमबी बैंकसँग सामझदारी गर्न उत्साहित छौँ’, ग्लोबल एजुकेसन, फ्लाइवायरका ईभीपी शेरोन बटलरले भने ।