काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बुधबार काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच लाख छ हजार दुई सय ५० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरको अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले सामुदायिक विद्यालयको दृष्टि जाँच कार्यक्रमअन्तर्गत पहिचान गरिएका छ सय ७५ जना विद्यार्थीहरूलाई निःशुल्क चश्मा प्रदान गर्न उपयोग गर्नेछ । उक्त सहयोगले कमजोर आर्थिक स्थितिका कारण दृष्टि कमजोर भए पनि चस्माविना अध्ययन गर्न बाध्य भएका विद्यार्थीहरूलाई सहजरूपले अध्ययन गर्न मदत पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको र आगामी दिनहरूमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता दिँदै जाने बताएको छ ।