काठमाडौं । नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तर्जुमा समितिले कार्ययोजनासहितको प्रतिवेदन तयार पारेको छ । समितिले बिहीबार उक्त प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई बुझाएको छ । मन्त्री श्रेष्ठले असार १३ गते पदभार ग्रहण गर्दै नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्न तत्कालीन र दीर्घकालीन कार्ययोजना तयार गर्न समिति गठन गरेका थिए ।
समितिले सरोकारवालाहरुसँग छलफल तथा विगतमा गठन भएका विभिन्न समितिका प्रतिवेदनहरु अध्ययन गरी कार्ययोजना तयार गरेको हो । कार्ययोजनामा एक महिनाभित्र गर्न सकिने काम, तीन महिनामा गर्न सकिने काम, छ महिनाभित्र गर्न सकिने काम, एक वर्षभित्र गर्न सकिने काम र निरन्तर गर्नुपर्ने कामका ५१ वटा योजना समावेश गरिएको छ । कार्ययोजना कार्यान्वयन गर्ने निकाय र कार्यान्वयनका लागि सहयोगी संस्थाबारे पनि प्रतिवेदनमा उल्लेख छ ।
पर्वतीय पर्यटन सुधारका लागि कानुन संशोधन गर्नुपर्ने, पर्यटकको नेपाल बसाइ सुरक्षित बनाउन संकट व्यवस्थापन एकाइ स्थापना गर्ने, ’एक नेपाली एक विदेशी साथी नेपाल पठाउने अभियान’का लागि एनआरएनसँग सम्झौता गर्ने, काठमाडौंका ऐतिहासिक तथा पुरातात्विक सम्पदा जोड्न सम्पदा मार्ग निर्माण गर्ने, कोभिडपछि नेपाल सुरक्षित गन्तव्य रहेकोबारे बजारीकरण गर्ने कार्ययोजनामा उल्लेख छ । यस्तै रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने, सगरमाथा सम्वाद पुनः सुरु गर्ने, अन्तप्र्रदेश हवाइ सेवा विस्तार गर्ने, प्रयोगमा नआएका विमानस्थललाई एयर स्पोर्टस एक्टिभिटी सेन्टरका रुपमा विकास गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।
महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाइ अभियान चलाउने, पर्यटन डिजिटल नक्सा बनाउनेलगायत विषय पनि कार्ययोजनामा उल्लेख छ । मन्त्री श्रेष्ठले कार्ययोजनाअनुसार काम अघि बढाउने प्रतिबद्धता जनाए । मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा पर्यटन विभागका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकण र नेपाल पर्यटन बोर्डका प्रतिनिधिका साथै तीन जना विज्ञ सम्मिलित समिति गठन गरिएको थियो ।