इस्लामावाद । पाकिस्तानमा पछिल्लो एक महिनामा वर्षापछि भएका घटनामा परी कम्तीमा एक सय ६५ जनाको मृत्यु भएको छ । वर्षापछिको बाढी पहिरो र त्यस सम्बन्धी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । ती घटनाहरुमा परी अरु १७१ जना घाइते पनि भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले बिहीबार जनाएको छ । देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने बालुचिस्तान प्रान्तमा मात्रै ६५ जनाको मृत्यु भएको र ४९ जना घाइते भएको विवरण छ । वर्षाका कारण मानवीय क्षतिसँगै भौतिक संरचनाहरुमा समेत ठूलो क्षति भएको छ । कतिपय सेवा पनि अवरुद्ध भएको जनाइएको छ । वर्षाले धेरै क्षति गर्न थालेपछि बालुचिस्तान प्रदेश सरकारले मंगलबारदेखि एक महिनाका लागि धारा १४४ लागू गरिएको छ । धारा १४४ मा नदीको छेउछाउ, जङ्गल, तलाउ लगायतका क्षेत्रमा बनभोज जान निषेध गरिएको छ । अन्य प्रदेशमा पनि बाढी पहिरो लगायतका घटनामा परी धेरैको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।