नयाँ दिल्ली । भारतीय मुद्राको गिरावट रोकिएको छैन । अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै न्यून स्तरमा भारु आइपुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकामा जुन महिनाको महंगी र मन्दीको आशंकासँगै अझै खराब हुनसक्ने देखिँदा भारु अझै अवमूल्यन हुनसक्ने बताइएको छ ।
कुनै पनि बेला डलरको तुलनामा भारु ८० पुग्न सक्नेछ । अमेरिकामा जुनमा महंगी दर ९.१ प्रतिशत रहेको थियो जुन अनुमानितभन्दा बढी रहेको बताइएको छ । यही कारण अमेरिकी फेडेरल रिजर्भले ब्याजदर बढाउनसक्नेछ । अमेरिका विश्वको बलियो अर्थतन्त्र भएको देश हो । त्यसकारण त्यहाँको अर्थतन्त्र बिग्रिँदा त्यसको असर भारुमा समेत पर्नसक्नेछ ।
पछिल्ला केही दिनयता विश्वमा मन्दी आउनसक्ने भय छाएको छ । यो वर्ष भारुमा साढे छ प्रतिशत अवमूल्यन भइसकेको छ । आरबीआईले भारुको गिरावट रोकन धेरै कदम चाले पनि व्यापार तथा रणनीतिकारहरुले निकट भविष्यमै भारु ८० को स्तरमा आउनसक्ने बताएका छन् । भारुमा आएको गिरावटको मुख्य कारण भने कच्चा तेलको मूल्यवृद्धि, डलरको मजबुती, विदेशी पुँजीको निकासी रहेको छ । भारु सस्तिँदा आयात झनै महंगो हुने जनाइएको छ ।
त्यस्तै भारु कमजोर हुँदा यसको धेरै असर महंगीमा पर्नेछ । तर डलरसँग भारु कमजोर हुँदा केही निर्यातकर्तालाई भने फाइदा हुनेछ ।