काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । सीआईबीका अनुसार फरक फरक मुद्दाका दुई जना फरार प्रतिवादीहरुलाई बिहीबार र शुक्रबार पक्राउ गरिएको हो ।
सीआईबीका अनुसार पक्राउ पर्नेहरुमध्ये प्रतिवादी काठमाडौं महानगरपालिका–४ विशालनगर बस्ने ४० वर्षीय अमित शम्शेर जबरालाई शुक्रबार पक्राउ गरिएको हो । उच्च अदालत पाटनको २०७८ चैत २१ गतेको फैसलाले बैंकिङ कसुर मद्दामा १० दिन कैद र ६६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं टुडालदेवीबाट पक्राउ गरेको हो ।
सीआईबीका अनुसार सिटिजन्स बैंक लिमिटेडमा जबराको नाममा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ ।
सीआईबीले फरार प्रतिवादी काठमाडौं महानगरपालिका–३२ डिल्लीबजार बस्ने चितवन भरतपुर महानगरपालिका–५ घर भएकी ४२ वर्षीया बन्दना उप्रेतीलाई पनि पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ असार ५ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई सीआईबीले काठमाडौं महानगरपालिका–४ चण्डोलबाट पक्राउ गरेको हो । उप्रेतीले प्राइम कमर्सियल बैंक लिमिटेड बागबजार शाखामा उनकै नाममा रहेको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी रकम भुक्तान हुने भनी २०७५ फागुन ५ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ ।