काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियाचाओसँगै नेपाल आएकी भ्रमण दलको चार सदस्यीय टोली फर्कने बेला प्लेन छुटेर नेपालमा नै अड्किएको थाहा भएको छ ।
विदेश विभाग प्रमुख चाओ अघिल्लो आइतबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चार दिने नेपाल भ्रमणमा आएका थिए । नेपालमा राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न कम्युनिष्ट पार्टीका नेताहरुलाई भेटेर उनी बुधबार स्वदेश फर्किने क्रममा उनको भ्रमण दलका चार सदस्य छुटेका हुन् ।
चाओ र उनको निजी सचिव वेन चान्दा मात्रै बुधबार सिंगापुर एयरलाइन्सबाट सिंगापुर प्रस्थान गरेको र उनीहरुसँगै नेपाल आएका अन्य चार जना फङ सीउवीन, चाङ्ग चिउछिन, छुई सियाङग र चाङग युया प्लेन छुटेर त्यस दिन नफर्किएको बताइए पनि उनीहरु विशेष कामले नेपालमै रोकिएको थाहा भएको छ । हाल उनीहरुको काठमाडौंको द्वारिका होटलमा बसिरहेको पनि बुझिएको छ ।
नफर्किएकी चाङ युया नेपाल डेस्क हेर्ने बेइजिङकी प्रमुखमध्येकी हुन् । उनीहरु प्रचण्ड दिल्लीबाट फर्किएपछि मात्र चीन फर्किने योजनामा नेपाल बसाइ लम्बिएको बुझिएको छ ।