काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिहीबार मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
मर्जरको लागि दुवै कम्पनीबीच एकबराबर एकको अनुपातमा स्वाप रेसियो कायम गरिएको छ । मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ । मर्जरपछि सञ्चालक समितिको अध्यक्षमा हालका प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका रमेश कुमार भट्टराई रहने सम्झौता भएको छ । कार्यक्रममा दुवै कम्पनीका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।