काठमाडौं । काठमाडौंका सडकपेटीमा आश्रित व्यक्तिहरूलाई फकाएर मिर्गौला बेचबिखन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप मन्थली नगरपालिका–५ का हिमाल श्रेष्ठ भन्ने धन बहादुर रोका, गुल्मी तम्घास नगरपालिका–२ का विजय कुँवर, दैलेख चामुण्डा बिन्द्रासयनी नगरपालिकाक–६ का धुपेन्द्र शाही, बिमल बहादुर शाही र झापा पृथ्वीनगर नगरपालिका–१ का छोटे भन्ने आशिष तामाङ रहेका छन् ।
उनीहरूले सडकपेटीमा आश्रित व्यक्तिहरूसँग चिनजान गरी भारतको कलकत्ता गई मिर्गौला बिक्री गर्दा पाँच लाख रूपैयाँ कमाइ हुने र नेपाल आउँदा ५० हजार पर्ने मोबाइल समेत पाइन्छ भन्दै फकाउने गरेको पाइएको छ । उनीहरूले दुई जनालाई विश्वासमा पारी मिर्गौलादाताले गर्नुपर्ने शारीरिक जाँच गरी गत असार १५ गते भारतको कोलकत्ता लैजानका लागि तयारी अवस्थामा राखेका थिए ।
उक्त सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न धुपेन्द्र, विजय र बिमललाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा सोही घटनामा संलग्न रही फरार रहेका धन बहादुर र आशिषलाई असार २८ गते प्रहरीले पक्राउ गरेको हो । उनीउपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही हुने मानव बेचबिखन अनुसन्धान व्युरो बबरमहलले जनाएको छ ।