ग्रिस । उत्तरी ग्रीसमा शनिबार राति मालवाहक एउटा विमान दुर्घटना हुँदा त्यसमा रहेका चालक दलका सबै आठ जना सदस्यको मृत्यु भएको छ ।
सर्बियामा निर्मित ११ टनभन्दा बढी मोर्टार गोलाबारूद बोकेर जोर्डन हुँदै बंगलादेशका लागि उक्त विमान उडेको थियो । गाउँको खेतमा खसेको उक्त विमानका भग्नावशेषमा आइतबार बिहानसम्म विष्फोटनका आवाज सुनिएका स्थानीयले बताएका छन् । विमानको अगाडिको भागबाट सेतो धूवाँको मुँस्लो पनि उडिरहेको उनीहरूले बताए ।
दुर्घटनाग्रस्त विमानका चालक दलका सदस्य सबै युक्रेनी नागरिक रहेका र विमान पनि युक्रेनी कम्पनी मेरिडिनले सञ्चालन गरेको सर्वियाका रक्षामन्त्री नेबोजसा स्टेफानोभिकले पत्रकारहरूलाई बताएका छन् । विमानमा घातक रासायनिक पदार्थ वा विष्फोटक सामग्री अझै बाँकी भए/नभएको यकिन गर्न विज्ञहरू दुर्घटनास्थल पुग्ने तयारीमा रहेका ग्रीसका सरकारी अधिकारीहरूले जनाएका छन्