काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले निर्माणाधीन मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला दुई वर्षभित्रै सम्पन्न हुनेगरी निर्माणकार्य अगाडि बढाउन निर्देशन दिएका छन् ।
निरीक्षणका लागि सोमबार मूलपानी पुगेका मन्त्री अथकले रंगशालाको निर्माणकार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिएका हुन् । साथै उनले गुणस्तरीयताका लागि प्राविधिक पाटोलाई समेत ख्याल गर्नुपर्ने बताए । मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसहित रंगशालाको निरिक्षणमा पुगेका मन्त्री अथकले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउँदै त्यसका लागि सबै खेलप्रेमीको इमान्दार प्रयासको आवश्यकता रहेको बताए । यस्तै उनले त्यहाँ अभ्यासरत खेलाडीहरुसँग भेटघाट समेत गरेका थिए ।