काठमाडौं । मधेशको धनुषास्थित जानकी मेडिकल कलेजले चिकित्सा सस्थान (आईओएम) को ५० वर्षको शुभ वार्षिकोत्सवको अवसरमा ओपीडी लगायत अन्य केही स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने भएको छ । यो शुभ अवसरमा साउन महिनाभरि आन्तरिक चिकित्सा, शल्य चिकित्सा, स्त्री रोग, बाल रोग, आँखा, नाक कान घाँटी, अर्थोपेडिक्स, दन्त चिकित्सा, मनोचिकित्सा, चर्म अनि पिसाबका बिरामीहरूलाई निःशुल्क ओपीडी सेवा प्रदान गर्ने भएको हो ।
त्यसबाहेक, जानकी मेडिकल कलेजले ल्याब परीक्षण, रेडियोलोजी, आईसीयू/एनआईसीयूमा र वार्डको शुल्कमा पनि २५ प्रतिशत छुट दिने भएको छ । त्यति मात्र नभएर जानकी मेडिकल कलेजले आफ्नो २४ घण्टा उपलब्ध एम्बुलेन्स सेवा पनि यो साउन महिनाभरि निःशुल्क बनाएको छ । जानकी मेडिकल कलेजको अनुभवी डाक्टर प्रियंका शर्माले चिकित्सा सस्थानसँग आबद्ध भएर अगाडि बढ्नु गौरवको कुरा भएको बताएकी छिन् । आईओएमले अहिलेसम्म प्रदान गर्दै आएको साथ र सहयोगले आफूहरूमा ऊर्जा भरेको उनको भनाइ छ । प्रदेश २ को धनुषास्थित जानकी मेडिकल कलेजस्तरीय मेडिकल शिक्षा प्रदान गर्दै दक्ष डाक्टरहरू स्थापित गर्ने लक्ष्य लिएर अघि बढिरहेको संस्था हो ।