काठमाडौं । खराब बदनियत भएका अफिसका हाकिमहरुले आफ्नै कार्यालयका महिला कर्मचारीहरुलाई समेत बाँकी राख्दा रहनेछन् भन्ने कुराको पुष्टि यही असार ३१ गते काठमाडौंको पुतलीसडकमा भएको एउटा घटनाबाट भएको छ । पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको एउटा शैक्षिक परामर्श केन्द्रले आफ्नै कार्यालयकी महिला कर्मचारीलाई पुतलीसडककै एउटा होटलमा लगेर जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेपछि यो घटनाको पुष्टि भएको हो ।
पीडितले नजिकैको स्थानीय प्रहरी कार्यालयमा दिएको जाहेरीअनुसार घटना यही असार ३० गते राति १२ बजेपछि अर्थात् यही असार ३१ गते बिहानको हो । आफूले काम गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले आफूलाई काठमाडौंको एउटा होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै ती महिला कर्मचारीले स्थानीय प्रहरीमा जाहेरी दिइन् । स्रोतका अनुसार पीडित महिलाले यही साउन ३ गते जाहेरी दिएकी थिइन् । सोही जाहेरीलाई आधार मानेर प्रहरीले पीडक अर्थात् ती शैक्षिक परामर्श केन्द्रका प्रमुख कार्यकारी अधिकृतलाई साउन ४ गते बुधबार काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको छ ।
प्रहरी उच्च स्रोतका अनुसार पक्राउ पर्नेमा तनहुँ जिल्लाको भानुनगरपालिका वडा ८ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं २६ बस्ने ४१ वर्षीय युवक रहेका छन् । पक्राउ परेका ती युवकउपर काठमाडौं जिल्ला अदालतबाट बुधबार अनुसन्धानको लागि पाँच दिन म्याद थप भएको प्रहरी स्रोतले बताएको छ । यता पीडित युवतीले काम गर्ने संस्थामा भने ती युवती उक्त घटना भएदेखि नै नआएको खुलेको छ । उक्त शैक्षिक परामर्श केन्द्रमा रिसेप्सनको रुपमा काम गर्ने दुई जना महिला कर्मचारीहरु विदामा रहेको उक्त संस्थामै हाल कार्यरत रहेकी एक जना महिला कर्मचारीले बताइन् । आफूले काम गर्न थालेको दुई दिन मात्र भएकाले पुरानो घटनाबारे आफूलाई केही जानकारी नभएको ती कर्मचारीको भनाइ छ ।