न्यु मेक्सिको (अमेरिका) फागुन ११
अमेरिकी राज्य न्यु मेक्सिकोका महान्यायाधिवक्ताको कार्यालयले अवैध रुपमा विद्यार्थीमाथि जासुसी गरेको भन्दै गुगलविरुद्ध मुद्दा हाल्ने तयारी गरेको छ । कम्पनीले विद्यार्थीहरुको व्यक्तिगत दाता अवैधानिक रुपमा जम्मा गरेको भन्दै मुद्दा हाल्न लागिएको हो ।
बीबीसीका अनुसार गुगलमाथि विद्यार्थीहरुले साइट भिजिट गर्ने क्रममा उनीहरुको पासवर्डलगायतका विभिन्न सूचनाहरु संकलन गरेको आरोप छ । विद्यार्थीहरुले हेरेका भिडियोलगायतको आधारमा गुगलले सूचना संकलन गरेको बताइएको छ । गुगलको क्रोमबुक ल्यापटप र जी सुइट भन्ने एउटा कार्यक्रमबाट उक्त तथ्यांक संकलन गरिएको बताइएको छ । तर गुगलले भने आरोप अस्वीकार गरेको छ ।
गुगलका प्रवक्ताले तथ्यगत रुपमा आरोप गलत भएको टिप्पणी गरेका छन् । जी सुइट र क्रोमबुकमा जिमेल, क्यालेन्डर, ड्राइभ, डकुमेन्ट र अन्य कुराहरु समावेश हुन्छन् । ती दुवै न्यु मेक्सिकोका ६० प्रतिशत बढी विद्यार्थीलाई निःशुल्क उपलब्ध हुने गरेको पनि अभियोगपत्रमा उल्लेख छ ।
उक्त राज्यका महान्यायाधिवक्ता हेक्टर बाल्डेरासले व्यावसायिक उद्देश्यका साथ गुगलले विद्यार्थीहरुको अनलाइन गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेको बताए । गुगलको यस कार्य निकै खतरनाक भएको समेत उनले बताएका छन् ।