काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋण किस्ताबापतको एक अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ । निगमले जहाज खरिद गर्दा लिएको ऋण दायित्वको किस्ताबापतको एक अर्ब ३५ करोड रुपैयाँ सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरेको जनाएको छ । उसले अढाई वर्षपछि ऋणबापतको किस्ता तिरेको हो ।
कर्मचारी सञ्चकय कोष र नागरिक लगानीको कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदबापतको ४५ करोड र वाइडबडी जहाज खरिदबापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ताबापतको रकम भुक्तानी गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । नागरिक लगानीको कोषको हकमा भने वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको ४५ करोड रुपैयाँ भुक्तानी गरिएको हो ।
‘विगतमा विश्वव्यापी कारोना महामारीका कारण विश्व उड्डयन बजार नै धराशायी हुँदै गर्दा निगम पनि अप्ठयारो समयबाट गुज्रिनुपरेको यथार्थका बीच व्यवसायमा आएको तत्कालीन शिथिलताले आम्दानीको स्रोतमा समेत नकारात्मक असर पर्न गाएको थियो । पछिल्लो समय कोरोनासम्बन्धी स्वास्थ्य मापदण्डमा आएको विश्वव्यापी खुलापनसँगै अन्तर्राष्ट्रिय उडानमा सहजता, सिट अकुपेन्सी दरमा सुधार, उडानमा भएको सामान्यीकरण तथा नियमिततासँगै आम्दानीमा समेत तुलनात्मक बढोत्तरी भएको कारण उक्त किस्ता तिर्न सहज भएको व्यहोरा सम्बन्धित सबैमा अवगत गराइन्छ’, निगमले जारी गरेको वक्तव्यमा भनिएको छ । कोरोनापछि अवस्था सामान्य बनेसँगै मुलुकमा हवाइ क्षेत्र सुधारोन्मुख हुँदै गएको हो । जुन विश्व परिवेशमा समेत महसुस गरिएको छ ।