काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब एक करोड रुपैयाँ बराबरको राजस्व छलीका सामानसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको सखुवा बर्सौनी गाउँपालिका–१ घर भई हाल काठमाडौं–७ साततले बस्ने ४१ वर्षीय नवराज शर्मा भन्ने छविलाल अगस्ती रहेका छन् ।
प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार काठमाडौंको चाबहिलनजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान फेला परेको हो । प्रहरीले विभिन्न ब्राण्डका विदेशी चुरोट दुई हजार नौ सय ८० बण्डल, ४८ किलो पानराज गुट्खा, तीन सय ८० थान अक्सिमिटर, सुर्तीजन्य पदार्थ, मोटरसाइकलको पार्टस, इलेक्ट्रोनिक्स चिप्स, पटाका, भुइँचम्पा, आतिसबाजलगायतका सामग्री बरामद गरी बिहीबार सार्वजनिक गरेको छ ।
अवैध रुपमा सामान ल्याएर राखिएको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले बुधबार ती सामान बरामद गरेको हो । अवैध रुपमा ल्याइएका ती सामान काठमाडौं महानगरपालिका ७ गोपीकृष्णनगरस्थित श्रीजल एण्ड सुजाता ट्रेडिङ कन्सर्न प्रालिको नामबाट कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनले भारतबाट गैरकानुनी रुपमा राजस्व छलेर नेपाल ल्याएका ती सामान काठमाडौं महानगरपालिका ७ स्थित पुष्पा अधिकारीको घरको सटर भाडामा लिइ भण्डारण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
बरामद गरिएका ती सामान अनुसन्धान तथा कारबाहीका लागि बिहीबार नै राजस्व अनुसन्धान विभागमा पठाइएको छ भने विष्फोटक पदार्थसमेत रहेकाले सोही कसुरअन्तर्गतको मुद्दामा उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।