काठमाडौं । एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् । उनलाई एफवान ग्रुपको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो । ढकालसँग २४ वर्षभन्दा बढी सफल उद्यमीको रुपमा अनुभव छ ।
ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेसनबाट आफ्नो करियर सुरु गरेका थिए । नेपाल फर्केपछि उनले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गरेका छन् । उनी यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतको रुपमा समेत कार्यरत थिए । उनले कम्प्युटर विज्ञान र गणितमा स्नातक गरेका छन् ।
एफवान सफ्टमा आबद्ध भएसँगै उनले कम्पनीलाई थप उचाइमा पु-याउने अपेक्षा गरिएको छ । सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठूला आईटी कम्पनीमध्ये एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तीय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाललगायत विदेशी मुलुकमा बिक्रीवितरण गर्दै आएको छ ।