बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाको रूपमा रहेको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयको नाकाबाट गत वर्ष निर्यात शून्य भएको छ । ८१ लाख २१ हजार तीन सय १४ रूपैयाँको सामान भित्रिएकामा निर्यात भने शून्य रहेको हो ।
कार्यालयका नायब सुब्बा प्रेमप्रसाद काफ्लेका अनुसार आव २०७८/७९ मा चिनी, दाल, भाँडाकुँडा, कपडा, बिँडी, चप्पललगायत सामानहरू बढी आयात भएका थिए । यस नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ । केही वर्षअघिसम्म घ्यू निर्यात हुने गरेकामा गत वर्ष त्यो पनि निर्यात भएन । कार्यालयका अनुसार साउन महिनामा भारतबाट आठ लाख ५५ हजार पाँच सय २० रूपैयाँ, भदौमा १० लाख ५३ हजार नौ सय तीन रूपैयाँ, असोजमा १३ लाख ३४ हजार नौ सय ८३ रूपैयाँ, कात्तिकमा नौ लाख १९ हजार तीन सय ८२ रूपैयाँ, मंसिरमा १० लाख ५५ हजार २२ रूपैयाँ, पुसमा दुई लाख ३८ हजार तीन सय ६३ रूपैयाँको सामान आयात भएको थियो ।
यस्तै माघ महिनामा चार लाख ९१ हजार तीन सय ७२ रूपैयाँ, फागुनमा पाँच लाख ८४ हजार तीन सय ८२ रूपैयाँ, चैतमा तीन लाख चार हजार नौ सय ५२ रूपैयाँ, वैशाखमा दुई लाख ३३ हजार ८९ रूपैयाँ, जेठमा चार लाख २९ हजार पाँच सय २४ रूपैयाँ र असारमा छ लाख २० हजार छ सय २२ रूपैयाँको सामान भित्रिएको थियो । उक्त कार्यालयले गत आर्थिक वर्षमा भन्सार महसुलबाट १६ लाख तीन हजार आठ सय ७३ रूपैयाँ, भन्सार सेवा दस्तुरबाट ८७ हजार पाँच सय रूपैयाँ, मूल्य अभिवृद्धिकरबाट छ लाख ६३ हजार चार सय ६८ रूपैयाँ, अन्तःशुल्कबाट १२ हजार ५६ रूपैयाँ गरी २३ लाख ६६ हजार आठ सय ९७ रूपैयाँ राजस्व संकलन गरेको थियो ।
गत आर्थिक वर्षमा कार्यालयले ४३ लाख ६१ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा लक्ष्यभन्दा कम २३ लाख ६६ हजार आठ सय ९७ रूपैयाँ मात्रै संकलन भएको हो । अहिले व्यापारिक प्रयोजनका लागि पनि सामान कम मात्रा आउने तथा आयात घटेकाले राजस्व संकलनमा कमी आएको बताइएको छ । झुलाघाट नाकामा मोटरेबल पुल नहुँदा व्यापारीहरूले धेरैजसो सामानहरू धनगढी वा काठमाडौंबाटै ल्याउने गरेका छन् ।