काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७८ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ । सो परीक्षाको परीक्षाफल कल गरेर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिनेछ । यस्तै मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसईई लेखेर एक स्थान छाडी अल्फाबेटसहितको सिम्बल नम्बर टाइप गरी १६०० मा पठाउन पनि सकिनेछ । साथै नेपाल टेलिकमको वेबसाइट एसईई डट एनटीसी डट नेट डट एनपीमार्फत मार्कसिटसहितको नतिजा प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।
कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र हो । प्रामाणिक विवरण (रेकर्ड) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुनेछ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेपश्चात् परीक्षाफल हेर्न सकिने कम्पनीले जनाएको छ ।