काठमाडौं । मुगु, छायाँनाथ रारा नगरपालिका वडा नम्बर १० स्थित तीनमुखेदेखि लुवाबान्नासम्म सिँचाइ कुलो निर्माणको क्रममा सरकारी कर्मचारी, जनप्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी मिलेर २३ लाख रुपैयाँ बढी रकम आर्थिक अनियमतिता गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढा र सब–इन्जिनियर राजेन्द्र शाहीद्वयको मिलेमतोमा सो कुलो निर्माणको क्रममा उपभोक्ता समितिलाई बढी भुक्तानी दिई २३ लाख १० हजार पाँच सय ९६ रुपैयाँ आर्थिक अनियमतिता गरिएको हो ।
तीनमुखेदेखि लुवाबान्ना कृषि सिँचाइ आयोजनाको यथार्थ नापजाँच नगरी कार्य मूल्यांकन गर्नुको साटो नापी किताब, कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने, योजनाअनुसारको सबै काम भइसकेको भनी नापी किताब कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी २३ लाख १० हजार पाँच सय ९६ रुपैयाँ उपभोक्ता समितिलाई बढी भुक्तानी दिई उपभोक्ता समिति र कर्मचारीलाई गैरकानूनी लाभ पु-याएको तथा नेपाल सरकारलाई हानि–नोक्सानी पु-याइएको आयोगको ठहर छ ।
आर्थिक अनियमितता गरेको आरोपमा आयोगले उनीहरुविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिमको कसुर गरेकोले २३ लाख १० हजार पाँच सय ९६ रुपैयाँ बिगो असुलउपरका साथै आयोगले कैद तथा जरिवानाको सजाय माग गरेको छ ।
यस्तै, कार्यालयका नायब प्राविधिक सहायक मणिचन्द्र, जिल्ला समन्वय समिति मुगुका तत्कालीन खरिदार विश्वास उपाध्यायले स्थलगत अनुगमन प्रतिवेदन पेश गर्नुपर्नेमा गलत प्रतिवेदन पेश गरेका पाइएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् । उपभोक्ता समितिका अध्यक्षमा भने बखत बहादुर सेजुवाल, सचिव लाल बहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली, सह–सचिव सुरेश बुढा रहेका छन् । उनीहरुविरुद्ध पनि भ्रष्टाचार निवारण ऐनको दफा ८ बमोजिम कैद तथा जरिवानाको सजाय गरी र उक्त बिगो समेत जफत गर्न मागदाबी लिइएको छ ।
यस्तै, वडा अध्यक्ष धर्मदत्त सावतले कृषि सिँचाइ आयोजनाको योजनाअनुसारको कार्यसम्पन्न भएको छ/छैन भन्ने जानकारी नलिई हचुवाको भरमा उपभोक्ता समितिका पदाधिकारीहरुसँगको मिलेमतोमा योजनाको काम सम्पन्न भएको बताएका थिए । उनलाई बढी भुक्तानी गर्ने कार्यमा मतियार भएको आयोगले ठहर गर्दै जरिवानाको सजाय माग गरेको छ ।