काठमाडौं । बाध्यात्मक र जोखिमयुक्त पहिचान भएको वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको मृत्यु बढ्दो क्रममा छ । गत आर्थिक वर्ष २०७८/०७९ मा झण्डै एक हजार पाँच सय जना नेपाली श्रमिकको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जानकारी दिएको छ । उक्त आर्थिक वर्षमा एक हजार चार सय ७९ जना (४६ जना महिला/१४३३ जना पुरुष) नेपाली श्रमिकले ज्यान गुमाए ।
नेपाली श्रमिकले यसरी ज्यान गुमाउनुमा भने प्राकृतिक कारण र रोग मुख्य कारण मानिन्छ । सरकारी प्रतिवदेन अर्थात् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिवेदनअनुरुप विदेशमा मृत्युको कारण विश्लेषण गर्दा सबैभन्दा बढी श्रमिकको मृत्यु क्रमशः प्राकृतिक कारण, हृदयाघात र सडक दुर्घटनाको कारणले भएको देखिन्छ । त्यस्तै, आत्महत्या पनि प्रमुख कारणमध्ये पर्छ । हाल पनि सोही कारणले विदेशमा नेपाली श्रमिकको मृत्यु भइरहेको वैदेशिक रोजगार बोर्डका सचिवालयका सूचना अधिकारी टीकामणि नेउपानेले आर्थिक दैनिकलाई बताए ।
श्रमिकहरु जोखिमपूर्ण पेशामा काम गर्न बाध्य हुने गरेको जसले गर्दा उनीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने तथा अंगभंग र मृत्युको जोखिम पनि उत्तिकै हुँदा श्रमिकहरुमा समस्यामा पर्ने गरेको उनको भनाइ छ । प्रतिवेदनले श्रमिकहरुले गन्तव्य मुलुकमा प्रतिकूल कार्य वातावरणमा काम गर्नुपर्ने र स्वास्थ्य सेवामा सीमित पहुँच हुने गरेको छ । असमान तापक्रम, कीटनाशक औषधि तथा रासायनिक पदार्थको प्रयोगबाट हुने प्रतिकूल वातावरणीय प्रभाव, काम गर्ने वातावरण जस्तै : अत्यधिक शारीरिक श्रम, पेशागत सुरक्षाको अनिश्चितता, कार्यस्थलमा हुने हिंसा, बेचबिखन र बाध्यकारी श्रम छन् । सडक दुर्घटना, डिहाइड्रेसन, पौष्टिक तत्वको अभाव र तापक्रमको घटबढ र आत्महत्या कारण भएको छ । नेपाली श्रमिकको गन्तव्य मुलुकको रुपमा मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान र बहराइन रहेको छ ।
आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ क्रमशः पाँच सय ७९ जना र एक हजार ९९ जनाको मृत्यु भएको थियो । विदेशमा नेपाली श्रमिकको मृत्युलाई रोक्ने सरकारी प्रयास भने पर्याप्त भएको पाइँदैन । यसैबीच सरकारले टेलिमेडिसन सेवा प्रदान गर्ने तयारी गरेको छ । चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममा विदेशमा रहेका नेपाली श्रमिकको उपचार गर्नका लागि टेलिमेडिसन सेवा राखिएको हुँदा सो कार्यलाई अगाडि बढाउने तयारी गरिएको सूचना अधिकारी नेउपानेले आर्थिक दैनिकलाई बताए । यसका लागि स्वास्थ्य क्षेत्रका जनशक्तिसँग मिलेर अघि बढ्ने निर्णय गरेको उनले बताए ।
वैदेशिक रोजगारीमा जानुअघि अभिमुखीकरण तालिम प्रदान गर्ने भए पनि त्यसले मृत्युमा कमी ल्याउनसकेको छैन । ‘अभिमुखीकरण तालिम प्रभावकारी नबनेको बोर्डले पनि जानकारी राखेको छ । त्यसैले गर्दा यसका विकल्प खोज्नु आवश्यक छ’, सूचना अधिकारी नेउपानेले भने । त्यति मात्र नभई अदक्ष अर्धदक्ष कामदार समेत कामका लागि विदेश जाँदा विविध समस्याहरु देखा पर्ने गरेको पाइन्छ । वैदेशिक रोजगारीमा जाँदा गन्तव्य मुलुकको भाषा, संस्कृति, राजनीतिक तथा आर्थिक अवस्थालगायतको विषयमा जानकारी राख्नु आवश्यक देखिन्छ तर नेपाली श्रमिकले भने त्यसलाई आवश्यक ठानेको नपाइने तथा सो विषयमा सचेतनाको कमी रहेको पाइन्छ ।
यसैबीच, बोर्डले भने आफ्नो कल्याणकारी कार्यलाई नियमित राखेको छ । गत आर्थिक वर्षमा मृत्यु भएका एक हजार चार सय ७९ जनाका परिवारलाई उसले आर्थिक सहायता प्रदान गरेको छ । उसले उक्त परिवारलाई ८३ करोड ६० लाख ९९ हजार रुपैयाँ प्रदान गरेको छ । अनलाइन प्रणालीबाट उक्त सहायता रकम प्रदान गरिएको हो ।
यस्तै, मृत्यु मात्र नभई कार्यस्थल, सडकलगायतका स्थानमा हुने दुर्घटनाका कारण पनि श्रमिकहरु अंगभंग बिरामी हुने गरेको पाइन्छ । गत आर्थिक वर्षमा २० जना महिला र दुई सय २५ जना पुरुष गरी कुल दुई सय ४५ जना श्रमिकको अंगभंग तथा बिरामी भएको बोर्डले जनाएको छ । उनीहरुलाई आर्थिक सहायतास्वरुप नौ करोड १७ लाख ७५ हजार रुपैयाँ बोर्डले वितरण गरेको थियो । सो रकम पनि अनलाइनबाट वितरण गरिएको हो । बोर्डले गत आर्थिक वर्षमा पाँच जना महिला र चार जना पुरुष गरी नौ जनाको लागि औषधोपचार सहयोगस्वरुप ४३ लाख रुपैयाँ, विदेशमा अलपत्र परेका एक सय एक जना महिला र आठ सय ९८ जना पुरुष गरी कुल नौ सय ९९ जनाको लागि १० लाख ४२ हजार रुपैयाँ सहयोग गरेको थियो ।
बोर्डले गत आर्थिक वर्षमा कल्याणकारी कार्यअन्तर्गत शव झिकाउन ९५ लाख २३ हजार रुपैयाँ, मृतकको शव घरसम्म पु-याउन दुई करोड ६३ लाख ५१ हजार रुपैयाँ, महिला श्रमिकहरुलाई अभिमुखीकरण तािलमका लागि तीन लाख २५ हजार रुपैयाँ र वैदेशिक रोजगार छात्रवृत्तिका लागि दुई करोड ४८ लाख ८६ हजार रुपैयाँ वितरण गरेको छ ।
गत आर्थिक वर्षमा ११ जना महिला र दुई सय दुई जना गरी दुई सय १३ जनाको शव झिकाउन, ३८ जना महिला र सात सय ५७ जना पुरुष गरी सात सय ९५ जनाको शव ढुवानीका लागि, चार सय ६५ जना महिला श्रमिकहरुलाई अभिमुखीकरण तालिम दिन र एक हजार दुई ४३ जना महिला र एक हजार तीन सय ५१ जना पुरुष गरी दुई हजार पाँच सय ९४ जनालाई छात्रवृत्तिका लािग उक्त रकम खर्च गरिएको हो । कल्याणकारी कार्य बोर्डको अनिवार्य दायित्व हो ।